कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि सरकारले आवश्यक तयारी गरिरहेको छ । यसको लागि उच्चस्तरीय समन्वय समितिले समेत काम गरिरहेको छ । नियमितजस्तो बैठकहरु बस्ने र महत्वपूर्ण निर्णयहरु भैरहेका छन् ।
पछिल्लो समय रक्षा, स्वास्थ्य र उद्योगमन्त्री बसेर महत्वपूर्ण छलफल गरेका छन् । आवश्यक पर्यो भने मुलुकलाई केही समय लक–डाउन गर्नेसम्मको तयारी छ । त्यतिवेलासम्म नेपाली जनता सबैलाई घरमै राखिने पनि सरकारको तयारी छ । उद्योगमन्त्री लेखराज भट्टले दिएको जानकारीअनुसार आवश्यक परे सरकारले घरबाट ननिस्कन समेत आम जनतालाई आह्वान गर्नेछ र सबै जनताले सरकारको उक्त आग्रह पालना गर्नुपर्नेछ ।
उनले भने,‘सबैले आफ्नो जीवनरक्षा आफैंले गर्ने हो । हामी अहिले गम्भिर रुपमा प्रस्तुत भएका छौं ।’ हिजोपनि उच्चस्तरीय समन्वय समितिको बैठक बस्नुभन्दा पहिले मन्त्रीहरुको सामूहिक बैठक बसेको थियो । उक्त बैठकमा नेपालका शीर्ष नेताहरुलाई कोरोनाको जोखिमबाट बचाउनको लागि पनि केही समय सेल्फ क्वारेन्टाईनमा बसाउनेबारे छलफल भएको थियो ।
अर्को कुरा, नेपालका सबै तारे होटलहरुलाई क्वारेन्टाईन बनाउनेबारे पनि छलफल भएको छ । हिजो साँझ बसेको समन्वय समितिको बैठकले मन्त्रीको संयोजकत्वमा ६ कार्यदल बनाएको छ । कोरोनाको प्रभावबाट नेपाललाई जोगाउनको लागि सरकारले महत्वपूर्ण कदम चालेको भट्टको भनाई छ ।
उनले भने,‘अहिले सबै एकजुट भएर कोरोनाविरुद्ध लड्नुपर्ने अवस्था हो । हामीले सावधानी अपनाउन सकेनौं भने नेपाललाई ठूलो असर पर्छ । नेपालमा कोरोना भित्रियो भने हामीले महामारी थेक्न सक्दैनौं । त्यसैले यस्तो अवस्थामा सरकारको आग्रहलाई सबैले पालना गर्नुपर्छ । म अहिलेपनि भन्छु सबै घरमै बसौं । कोही पनि ननिस्किऔं ।’