कोरोना संक्रमणबाट बच्न युवाहरूको पहल

विश्वभरी महामरीको रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न अहिले नेपाल सरकारले सर्तकता पनाइरहेको छ । नेपाल सरकारले अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन र भिडभाडमा नजान आग्रहसमेत गरेको छ ।

कोरोनाको संक्रमणबाट बच्न पटकपटक साबुन पानीले हात धुने कुरालाई चिकित्सक, विभिन्न सञ्चारमाध्यम र सरकारले आग्रह गरिरहेको बेला काठमाडौंका युवा व्यवसायीहरूले अहिले हात धुने अभियान नै शुरू गरेका छन् ।



प्रायजसो मानिसहरूको भिडभाड हुने काठमाडौंको न्युरोडमा युवा व्यवसायीहरू मिलेर साबुन पानीले हात धुने व्यवस्था गरेका छन् । कोरोनाको संक्रमण नफैलियोस् भनेर तीन जना युवा व्यवसायीहरू विवेक शर्मा, श्रीराम महर्जन र महेन्द्र शाहीले न्युरोडको पाकोे मोबाइल गल्लीमा साबुनपानीले हात धुने व्यवस्था गरेका हुन् ।  केही हप्ताअघि शुरू गरेको उक्त हात धुने अभियानमा टुटी जडित ७ वटा ड्रममा पानी रोखेर निःशुल्क हात धुने व्यवस्था गरिएको छ । बाटो हिड्ने सर्वसाधारणदेखि लिएर पसलमा किनमेल गर्न आउने ग्राहकसमेत अहिले साबुन पानीले सहजै हात धुन पाउँदा निकै खुसी भएको उनीहरू बताउँछन् ।

‘शुरूमा १२ वटा ड्रममा पानी राखेर साबुन पानीले हात धुने व्यवस्था गरेका थियौ, तर पछि पानीको अभावले गर्दा अहिले ७ वटा ड्रममा पानी राखेर हात धुने व्यवस्था गरेका छौं’ श्रीराम महर्जनले भने । ‘सबै ड्रमहरू २ सय २५ लिटरका छन्, एकपटक पानी राख्यो भने तीन दिनसम्मलाई पुग्छ ।’

‘शुरूमा यस्तो गर्ने सोच विवेक शर्माले ल्याउनु भयो र हामीलाई यस्तो काम गरौं भनेर भन्नु भो, हामीले पनि यस्तो राम्रो काम गर्दा समाजसेवा पनि हुने भो भन्ने लागेर शुरू गर्यौ’ महर्जनले भने । उनले थपे ‘अब काठमाडौं महल अगाडि र सुन्धारामा पनि शुरू गर्ने भनेर उहाँ (विवेक शर्मा) लाग्नु भएको छ, त्यतातिर पनि व्यवस्थापन गर्ने सोचमा छौं हामी ।’

हरेका टोलटोलमा साबुन पानीले हात धुनपर्छ भन्ने म्यासेज जाओस् भनेर आफूहरूले साबुन पानीले हात धुने व्यवस्था गरेको र यस्तो गर्न पाउँदा गर्व लागेको महेन्द्र शाहीले बताए ।

सम्बन्धित समाचार