नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ चैत्र ।
काठमाडौं महानगरपालिका र प्रहरी प्रशासनले अहिले अत्यावश्यक बाहेकका पसलहरु बन्द गर्न लगाएको छ । आइतबार दिउँसो प्रहरी प्रशासन र कामपा वडा नं.२२ का वडाअध्यक्ष सहितको टोलीले न्युरोडका पसलहरु बन्द गराउन थालेको हो ।
अत्यावश्यक सेवाहरू खाद्यान्न, सञ्चार सेवा, स्वास्थ्य सेवा, यातायात लगायतका अन्य पसलहरू अर्को सूचना नभएसम्मका लागि बन्द गर्न लगाइएको कामपा २२ का वडाध्यक्ष चीनकाजी श्रेष्ठले नवाकान्तिपुर डटकमलाई जानकारी गराए ।
आइतबार दिउँसो १२ बजेतिर महानगरीय प्रहरी परिसरको टोली र महानगरको पहलमा न्युरोड, असन, इन्द्रचोक लगायतका क्षेत्रका अत्यावश्यक बाहेक पसलहरु बन्द गराएको हो ।
कोरोना भाइरसको संक्रमण विश्वमहामारीका रूपमा फैलिरहेका बेला गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै चैत ९ गतेदेखि अत्यावश्यकबाहेक अन्य सेवाहरू बन्द गर्ने घोषणा गरेका थिए ।