भारत र चीनतर्फका सीमा नाका बन्द, ढुवानी भने नरोकिने

विश्वव्यापी रुपमा फैलिकएको कोरोना भाइरसको संक्रमण रोक्न नेपालले आजबाट दुवै छिमेकी मुलुक चीन र भारततर्फका सबै सीमा नाक बन्द गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आज बिहान १० बजेदेखि लागू हुनेगरी दुवै छिमेकी देशका सबै नाका बन्द गर्ने निर्णय गरेको थियो ।

छिमेकी नाकाबाट यात्रु आवागमन एक हप्ताका लागि बन्द गर्ने निर्णय भएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए । उनले सीमा वारपारको ढुवानी भने नियमित हुने बताए । उनले भने, ‘यो अहिले तत्कालका लागि लिइएको निर्णय हो । लामो समय रोक्नुपर्ने स्थिति आएमा दुई पक्षीय वार्ताबाट निर्णयमा पुग्नेछौ ।’



उनले एक देशको संक्रमण अर्को देशमा नफैलियोस् भनेर छिमेकी देशकोसमेत हितलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको बताए । कोरोना सङ्क्रमण विरुद्ध लड्नका लागि सरकारले केन्द्रीय राहत कोषकोे स्थापना गरेको छ ।

कोषमा सरकारले ५० करोड रुपैयाँ राख्ने भएको छ । त्यसैगरी संघीय सरकारका मन्त्रीहरुको एक महिनाको तलब पनि कोषमा जम्मा गर्ने निर्णय भएको छ । सरकारले कोषमा सहयोग गर्न अन्य सबैलाई आह्वान समेत गरेको छ ।

सम्बन्धित समाचार