
नेपाल सरकारले कोरोना भाइरस संक्रमणको महामारी रोक्ने प्रयासमा एक साताका लागि देशलाई ‘लकडाउन’ गरेको छ । संक्रमणको जोखिम न्यूनीकरणका लागि आजदेखि सरकारले अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द गरेको हो । कोरोना संक्रमणसम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले आज बिहान ६ बजेबाट एक सातासम्मका लागि घरबाट बाहिर निस्कन रोक लगाउने निर्णय गरेको थियो ।
उच्चस्तरीय समितिको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता युवराज खतिवडाले अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक सवारी साधन संचालनमा पूर्ण रोक लगाएको जानकारी दिए ।
उनले भने, ‘सुरक्षाा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानहरु बाहेक अन्य सबै आन्तरिक व्यावसायिक उडान बन्द हुनेछन् ।’ खाद्यान्न र अत्यावश्यक वस्तु ढुवानी गर्नेबाहेक अरु सवारी साधन पनि चलाउने नपाइने निर्णय गरेको छ । सुरक्षाकर्मी, स्वास्थ्यकर्मी जस्ता अत्यावश्यक सेवामा खटिएका तथा अनुमति प्राप्त व्यक्ति र सवारी साधनबाहेकको आवतजावतमा समेत रोक लगाएको छ ।

अत्यावश्यक सेवा प्रवाह गर्ने बाहेकका अन्य सबै सरकारी तथा सार्वजनिक कार्यालयहरु समेत बन्द गरिने उनले बताए । अत्यावश्यक कर्मचारी उपस्थित हुनेगरी अन्य कर्मचारीलाई सम्बन्धित कार्यलय प्रमुखले बिदा दिने निर्णय गरिएको जानकारी दिए ।उद्योग कर्मचारीलाई समेत बिदा दिइने निर्णय भएको उनले बताए । त्यसैगरी बजारमा अभाव देखाइ कालोबजारी गर्नेलाई कानून बमोमिम कारबाही गरिने समेत निर्णय भएको छ । सरकारका प्रवक्ता खतिडाले क्वारेन्टाइनमा राखिनेलाई सबै सुरक्षा व्यवस्था मिलाइने जनाए । क्वारेन्टाइन व्यवस्थापन मापदण्ड स्वीकृत गरेको उनले बताए ।
लकडाउनको आदेश पालना नगर्नेहरुलाई ६ महिनासम्म कैद र ६ महिनासम्म जरिवाना वा दुवै सजायँ हुने कानुनी व्यवस्था छ ।
सोमबार बसेको कोरोना नियन्त्रण तथा रोकथाम सम्बन्धि उच्चस्तरीय समन्वय समितिको बैठकका निर्णयहरु:
१, औषधी उपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कने ।
२, अनुपतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाउने
३, सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानहरु बाहेक अन्य सबै आन्तरिक व्यवसायिक उडानहरु बन्द गर्ने
४, स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनजस्ता अति आवश्यक सेवाबाहेक अन्य कार्यालय सञ्चालनकोलागि आवश्यक पर्ने कर्मचारीहरु मात्र उपस्थित हुने गरी सम्बन्धित कार्यालय प्रमुखले विदा दिने ।
५, औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने उद्योगहरु बाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग, कलकारखानाहरुमा काम गर्ने श्रमिक, कर्मचारीहरुलाई सम्बन्धित उद्योगले विदा दिने व्यवस्था मिलाउने ।
६, व्यवसायीहरुले औषधि र औषधिजन्य सामाग्रीहरुको नियमित आपूर्तिको व्यवस्था गर्ने । आभाव देखाई मुल्य बृद्धि गर्ने वा कालोबजारी,जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानून बमोजिम नियन्त्रणमा लिने, सामाग्री जफत गरी रोगको रोकथाम र उपचारको कार्यमा उपयोग गर्ने ।
७, संक्रमण रोग ऐन, २०२० को दफा २ को उपदफा (२० बमोजिम जारी यस आदेशको कार्यान्वयन गर्नका लागि आवश्यक व्यवस्था मिलाउन नेपाल राज्यका सबै प्रमुख जिल्ला अधिकारीलाई मुकरर गर्ने र सोको लागि स्थानीय प्रशासन ऐन, २०२८ को समेत आवश्यकता अनुसार प्रयोग गर्ने ।
८, संक्रमण रोग ऐन २०२० अन्तर्गत जारी आदेशको अवहेलना गर्ने वा काममा वाधा पुर्याउने व्यक्तिलाई सोही ऐन बमोजिम सजाय हुने ।

