गौरीफन्टा नाकामा रोकिएकाहरु प्रहरीलाई ढुंगा हान्दै नेपाल छिरे

लकडाउन चलिरहेका बेला सुदूरपश्‍चिमको प्रमुख नाका गौरीफान्टामा प्रहरी र सीमामा रोकिएका युवाबीच झडप भएको छ। सरकारले देशभरका सीमा सिल गरेपनि घर फर्किन चाहेका नेपाली सीमामा रोकिएपछि तनाव भएको हो । आवगमनमा रोक लगाएको अवस्थामा गौरीफन्टा नाकामा भारतबाट आएका सयौंको संख्यामा नेपालीसहितले सुरक्षा घेरा तोड्न खोज्दा तनाव भएको हो ।

सीमामा खटिएका प्रहरी र सशस्त्र प्रहरीमाथि ढुंगासमेत बर्साउँदै केही युवाहरु नेपालतर्फ छिरेका छन् । सरकारले लक डाउन गरेपछि आज बिहान गौरीफन्टा नाका हुदै घर फर्किन लागेका नेपालीहरुलाई रोक लगाउँदा नेपाल प्रहरी र नेपाल फर्कन लागेका नेपालीबीच झडप भएको हो । भिड नियन्त्रण गर्न प्रहरीले अश्रु ग्याससमेत हान्नुपरेको छ। मोहना पुलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनीहरलाई रोक्ने प्रयास गरिरहेको छ। यद्यपी कतिपय नेपालीहरु भने भागेर नेपाल प्रवेश गरिसकेका छन् ।



संघीय सरकारले सीमामा अलपत्र नेपालीलाई प्रवेश अनुमती दिने निर्णय गरेपनि आज बिहानैदेखि लकडाउन गरिएपछि सीमामा पुगेका नेपालीहरुलाई प्रवेशमा रोक लगाईएको थियो । दशगजा क्षेत्रबाट नेपाली भूमि आउन लागेका उनीहरुलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले रोकेर राखेको थियो। कतिपय नेपालीले सुरक्षा घेरा तोडेर नेपाल प्रवेश गरिसकेका छन् । उनीहरुले स्वास्थ्य परीक्षणसमेत नगराइ नेपालतर्फ छिरेका हुन् ।

नेपाल प्रवेश गर्न खोज्ने र सुरक्षाकर्मीबीच झडपको अवस्था सिर्जना भएको छ। प्रहरी र सुरक्षाकर्मीबीचको धरपकड भएकाले अवस्था सामान्यभन्दा बाहिर जान लागेको छ। लकडाउनपछि मोहना पुलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनीहरुलाई रोक्ने प्रयास गरिरहेका छन्।

सम्बन्धित समाचार