बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना भाइरस संक्रमणको पुष्टि

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । बेलायती सञ्चारमाध्यमले उनलाई कोरोना भाइरस संक्रमण भएको जनाएका हुन् ।

बोरिस जोनसनले ट्वीटमार्फत् भिडियो सनदेश जारी गर्दै आफूलाई कोरोना भाइरस लागेको जानकारी दिएका हुन् । उनले ट्वीटरमा आफूलाई कोरोना भाइरसको सामान्य लक्षण देखा परेको र स्वास्थय सल्लाहकारको सल्लाहअनुसार परीक्षण गराउँदा कोरोना भाइरस पोजेटिभ देखिएको जानकारी दिएका छन् ।



उनले अहिले आफू आइसोलेसनमा बसिरहेको समेत जनाएका छन् । उनले बेलायतमा कोरोना भाइरसको संक्रमण रोक्नका लागि लागिपरेका चिकित्सक, सुरक्षाकर्मी तथा सबै बेलायतीहरुलाई धन्यवाद समेत दिएका छन् ।

आफूमा कोरोना भाइरस पोजेटिभ देखिए पनि यसविरुद्ध जारी अभियानको नेतृत्व गर्न आफू दृढ रहेको उनले बताएका छन् । केही दिन अघिमात्रै बेलायती युवराज चाल्र्सलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

बेलायतमा हालसम्म कोरोना भाइरसका कारण ५७८ जनाको मृत्यु भइसकेको छ भने अरु ११ हजार ८ सय १६ जना यसबाट संक्रमित छन् । बेलायतमा पछिल्ला केही दिनमा कोरोना भाइरसबाट संक्रमित र मृतकको संख्या उकालो लाग्दै गएको छ । बिहीबारमात्र कोरोना भाइरसका कारण बेलायतमा एकै दिन ११३ जनाको मृत्यु भएको थियो ।

सम्बन्धित समाचार