कोरोना भाइरसको संक्रमणबाट फ्रान्सका पूर्वमन्त्री प्याट्रिक देवदजियानको मृत्यु भएको छ । भाइरस संक्रमणको आशंकामा बुधबार अस्पताल भर्ना गरिएका उनको आइतबार बिहान दक्षिण पेरिसको एक निजी अस्पतालमा मृत्यु भएको हो ।
उनी हाउत दे सेन प्रान्तका क्षेत्रीय विकास सल्लाहाकार र पूर्वराष्ट्रपति निकोलस सार्कोजीका घनिष्ठ सल्लाहकार पनि थिए । गत आइतबार भाइरसको संक्रमण देखिएको थियो, त्यसको तीन दिनपछि उनले स्वास्थ्य अवस्था स्थीर रहेको भन्दै ट्विट गरेका थिए, तर शनिबार साँझबाट उनको स्वास्थ्य अचानक बिग्रिएको थियो । चिकित्सकहरूले कृत्रिम कोमामा राख्ने निर्णय गरेका थिए, तर उनको मृत्यु भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै डेलीमेलले जनाएको छ ।
प्याट्रिक ७५ वर्षका थिए । यस्तै स्पेनकी ८६ वर्षीया राजकुमारी मारिया टेरेसाको पनि कोरोना भाइरसकै संक्रमणबाट शुक्रबार मृत्यु भएको छ ।