धादिङका कोरोना संक्रमित युवकसँग एउटै विमानमा आएका लमजुङका ६ जना सम्पर्कमा आएका छन् । सम्पर्कमा आएका चार जना लमजुङमै र दुई जना काठमाडौंमा क्वारेन्टाइनमा बसेका छन् ।
लमजुङका प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले सम्पर्कमा आएका सबैकोे स्वास्थ्य अवस्था सामान्य छ । लमजुङमा रहेकामध्ये तीन जनाको कोभिड–१९ परीक्षणको लागि बेंसीसहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालले स्वाबको नमुना लिएको छ ।
सो नमुना परीक्षणको लागि काठमाडौं पठाइने उनले बताए । बेंसीसहर नगरपालिका–५ का सोमराज विक, बेंसीसहर–२ का कृष्णकुमार थापा, राइनास नगरपालिका–४ का डम्बरदेव कडेँल, मस्र्याङ्दी गाउँपालिका–५ का आइतसिंह गुरुङ, सोही गाउँपालिका वडा नं ९ का विष्णुमणि भण्डारी र दोर्दी गाउँपालिका–१ का आशिष गुरुङ सम्पर्कमा आएका हुन् ।
उनीहरुमध्ये आशिष आइतबारमात्रै स्थानीय प्रशासनको सम्पर्कमा आएका हुन् । अन्य भने यसअघि नै सम्पर्कमा आएर परिवारसहित क्वारेन्टाइनमा बस्दै आएका थिए । चैत ६ मा दुबईको शारजाहबाट एयर अरेबियाको जी–९५३७ फ्लाइटबाट उनीहरु नेपाल आएका थिए ।
सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीका अनुसार सम्पर्कमा आएका सोमराजलाई बेंसीसहर–७ मा रहेको सहरी विकास कार्यालयमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको छ भने बेंसीसहर–२ कृष्ण भने परिवारसँगै होम क्वारेन्टाइनमा छन् । राइनास नगरपालिकाका डम्बरदेव पनि बेंसीसहरस्थित सहरी विकास कार्यालयको क्वारेन्टाइनमा छन् । उनका परिवार भने घरमै क्वारेन्टाइनमा बसेका छन् ।
आइतसिंह र उनको परिवारलाई घेर्मुस्थित गंगामिलन माविमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको छ विष्णुमणि भने काठमाडौंमा क्वारेन्टाइनमा छन् । आशिष पनि काठमाडौंस्थित फुपूको घरमा होम क्वारेन्टाइनमा छन् ।