बुटवलमा मृत्यु भएका युवकमा संक्रमणको रिपोर्ट नेगेटिभ

दुबईबाट फर्केर श्वासप्रश्वाससम्बन्धी समस्याले बुटवलको कोरोना विशेष अस्पतालमा मृत्यु भएका बाबुराम थापाको स्वाब परीक्षणमा कोरोना भाइरस नेगेटिभ देखिएको छ।

टेकु अस्पतालले आइतबार स्वाब परीक्षण गरिएका थापाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएको हो । रुपन्देही सैनामैनाका बाबुराम थापाको कोरोना विशेष अस्पतालको आइसोलेशनमा आइतबार मृत्यु भएको थियो ।



चैत ६ गते नेपाल आएका थापा १३ गतेदेखि आइसोलेशनमा थिए । उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि आइसीयूमा राख्ने तयारी हुँदैगर्दा उनको आइतबार दिउँसो मृत्यु भयो ।

उनको शव कोरोना विशेष अस्पतालमा राखिएको छ । सैनामैना ४ सिसौडाडामा कृष्णप्रसाद ज्ञवालीको घरमा थापाको परिवार बस्दै आएको थियो । कोरोना संक्रमित भएको हुनसक्ने भयले उनीहरुलाई सान्त्वना दिने पनि कोही छैन । श्रीमती रीता २ छोराका साथमा विक्षिप्त अवस्थामा रहेको ज्ञवालीले बताए । उनले आफुहरुले कागतीपानी खान दिएको र हेरचाह गरिरहेको बताए । एक वर्ष अघिदेखि ज्ञवालीको घरमा कोठा भाडामा बस्दै आएका उनीहरुको स्थायी घर पाल्पा रिब्दिकोट गाउँपालिका ५ मा हो ।

घरमा आउँदा थापालाई सामान्य ज्वरो थियो । ज्वरो आएपछि उनले मुर्गियाको एक मेडिकलमा चेकअप गराए । रगत पनि जँचाए । टाइफाइड हो भनेपछि घरमै बसेर टाईफाईडको औषधि खाए । पुनस् चेकजाँच गर्न छिमेकी सुझाव दिएपछि उनी स्वास्थ्यचौकी पुगे । स्वास्थ्यकर्मीले होम क्वारेन्टाइनमा बस्न भने । उनी घरमा आएर एक्लै बसे ।

टाइफाइडकै औषधि खाइरहेका थिए । औषधि खाइरहेपनि स्वास्थ्यमा सुधार आएन । कोरोना परीक्षण गर्न छिमेकीले अनुरोध गरेपछि उनी इरिक्सा चढेर बुटवलस्थित कोरोना विशेष अस्पताल आए । कोरोना परीक्षण गर्न आएका उनलाई आइसोलेशनमा राखियो । उपचार चलिरहेको थियो । श्रीमती रीतासँग बेलाबेलामा फोनमा कुराकानी हुन्थे । उनले पछिल्लोपटक भनेका थिए- ‘औषधि खाइरहेको छु तर खानेकुरा पिरो दिइरहेका छन् ।’ शनिबार बाबुरामले स्वास फेर्न गाह्रो भएको बताएका थिए । त्यसै राति पनि श्रीमान्/श्रीमतीबीच कुराकानी भयो ।

आइतबार बिहान बाबुरामले फोनमा एकदमै गाह्रो भइरहेको सुनाए । ‘स्वास फेर्न गाह्रो भएर अहँ, अहँ गर्दै कराइरहेको आवाज आएको थियो’, श्रीमतीको भनाई उद्धृत गर्दै घरधनी ज्ञवालीले भने । त्यसपछि रीता एम्बुलेन्स लिएर अस्पताल गएकी थिइन् । अस्पताल पुग्दा नपुग्दै उनले श्रीमानको मृत्युको खबर सुनिन् ।

थाापाको शव सोमबार परिवारलाई दिने तयारी भइरहेको विशेष अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए ।

सम्बन्धित समाचार