परिस्थितिको समीक्षा गर्दै युद्धस्तरमा अघि बढौं : कांग्रेस सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण रोकथाम र उपचार सम्बन्धमा हालसम्मको आफ्नो कार्यप्रगति र कमजोरीको वस्तुगत समीक्षा गरेर सरकारलाई प्रभावकारीरूपमा गति बढाउन आग्रह गरेका छन् ।

उनले कोरोना भाइरसको सङ्क्रमणसँग जुध्न नेपाल सरकारले निर्धारण गरेका रणनीतिलाई सबैले आत्मसात् गर्न जरुरी रहेको उल्लेख गर्दै पुरानो र अनुभवी दलको नाताले आजको चुनौती सामना गर्न सरकारलाई हरतरहले सघाउन कांग्रेस तत्पर रहेको र सघाइरहेको स्मरण गराए । ‘यो हामी सबैको साझा सङ्घर्ष हो, अतः सरकारमा सँगै नरहेर पनि यस्तो अभियानमा सँगै लड्न सकिन्छ भन्ने भावनामा हामी दृढ ढङ्गले प्रतिबद्ध छौं’, सभापति देउवाले भने ।



तत्काल सबै स्थानमा स्वास्थ्य सामग्री पुर्याउन आग्रह
लकडाउनलाई अझ इमानदारीसाथ पालना गर्न र गराउन पार्टीका नेता कार्यकर्ता एवं समस्त नेपालीमा पुनः अपिल गर्दै सभापति देउवाले सरकार र समुदायको ऐक्यबद्ध अभियानलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न सुझाव दिए । आयात गरेपश्चात् पनि व्यक्तिगत सुरक्षा उपकरण (पीपीइ) लगायत अत्यावश्यक सामग्री अझै कयौं ठाउँमा नपुगेको विवरण प्राप्त भएको बताउँदै उनले तत्काल सबै स्थानमा सामग्री पुर्याउन अपिल गरे।

सभापति देउवाले आज एक अपिलमार्फत स्वास्थ्यकर्मीको उच्च मानवीय भावना र समर्पणले यो भाइरसलाई परास्त गर्न सकिने बताउँदै नेपालभरिका स्वास्थ्यकर्मीप्रति सबै नेपालीको गहिरो भावनात्मक स्नेहको साथ रहेको स्मरण गराए । ‘आर्थिक राहतको व्यवस्थित प्याकेज घोषणा गर्न हामीले अपिल गरी आएका थियौं । आएको प्याकेज एक हदसम्म सकारात्मक भए पनि यो पर्याप्त छैन । ब्याजको किस्ता तिर्ने समयावधि थपेर मात्र पुग्दैन सबै खाले व्यवसायीको ऋणको ब्याज घटाएर राज्यले प्रतिकूलतामा राहत अनुभूति गराउनुपर्दछ । अझ रु २० लाखसम्म ऋण लिएर व्यवसाय गरिरहेका साना व्यवसायीका हकमा तीन महिनासम्मको ब्याज मिनाहा नै गर्न म फेरि पनि सरकारलाई अपिल गर्दछु’, उनले अपिलमा उल्लेख गरेका छन् ।

सम्बन्धित समाचार