कुनै सावधानी नअपनाइए अमेरिकामा कोरोना भाइरसका कारण २२ लाख व्यक्तिको ज्यान जान सक्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमणका कारण अमेरिकामा कम्तिमा एक लाख मानिसको ज्यान जान सक्ने चेतावनी दिएका छन् । ह्वाइट हाउसमा भएको कोरोनाभाइरस टास्क फोर्सको मंगलबारको ब्रिफिङ्गको क्रममा ट्रम्पले अबको दुई हप्ता निकै जोखिमपूर्ण र कठिन हुने भन्दै सबै अमेरिकीलाई अनिवार्य रुपमा सामाजिक दूरी कायम गर्न अपिल गरेका छन् ।

शीर्ष स्वास्थ्य विज्ञले दिएको सल्लाह अनुसार कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि सावधानी अपनाउन उनले आग्रह गरेका हुन् । यसअघि कोरोना भाइरस मात्रै फ्लू रहेको र यसलाई छलको शंज्ञा दिएका ट्रम्प अहिले आएर कोरोना भाइरसबाट ‘त्रसिए’ को देखिएको छ ।



उनले केही दिनअघिसम्म अमेरिकी जनजीवन सामान्य अवस्थामा चाँडै फर्किने बताएका थिए । तर अहिले उनी सामाजिक दूरी कायम गर्ने पक्षमा लागेका छन् । मंगलबारको ब्रिफिङ्गमा ट्रम्पले भने, ‘अबको ३० दिन अमेरिकीले सुझाइएका सबै नियमहरु पालना गर्नु आवश्यक छ । यो जीवन र मृत्युको कुरा हो ।’

ट्रम्पले भने, ‘अबको दुई हप्ता अति पीडादायी हुनेछ ।’ उनले चेतावनी दिँदै भने, ‘हामी सबै अमेरिकी कठीन दिनका लागि तयार हुन् भन्ने चाहन्छौँ।’ ह्वाइट हाउसका कोरोना भाइरस कोअडिनेटर डेबोराह बक्सले पत्रकार सम्मेलनमा कोरोना भाइरसका कारण अमेरिकामा अबको दुई हप्तामा हुन सक्ने मृत्युको संख्या आँकलन गरिएको विश्लेषणात्मक तथ्यांक प्रस्तुत गरेका थिए । जसमा अमेरिकामा अबको दुई हप्तामा अमेरिकामा एकदेखि दुई लाख मानिसको कोरोना भाइरसका कारण मृत्यु हुने चेतावनी दिइएको छ ।

कुनै पनि सावधानी नअपनाइएमा २२ लाख मानिसको ज्यान जाने जोखिम रहेको ट्रम्पले बताए।

सम्बन्धित समाचार