प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बुधबार भेट भएको छ । दुई अध्यक्षबीच समसामयिक विषयमा बालुवाटारमा झन्डै डेढ घन्टा कुराकानी भएको प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले बताइन् ।
ओली-प्रचण्डबीच सीमानामा अलपत्र नेपालीको उद्धार, पीडितहरूका लागि राहतको व्यवस्था लगायतका विषयमा छलफल भएको थियो । चीनबाट स्वास्थ्य सामाग्री ल्याउने क्रममा भएको अनियमितताबारे समेत प्रचण्डले चासो देखाएका थिए । भेटमा प्रचण्डले आवश्यक परे मन्त्रीहरु फेरबदल गरेर भएपनि बिपत्तिको बेलामा प्रभावकारी काम गर्न सुझाव दिएको स्रोतको दाबी छ ।
उनले मिडियामा आएका अनियमितताका समाचारबारे चासो राखेको श्रोतले बतायो। सरकारले चीनबाट सामान ल्याउने क्रममा अनियमितता गरेको भन्दै ओम्नी समूहसँगको सम्झौता रद्ध गरिसकेको छ ।