गत बुधबार मोरङको पथरी शनिश्चरे–७ की नीरमाया घिमिरे (नाम परिवर्तन)लाई एक्कासि दाहिनेपट्टिको पेट दुखेपछि विराटनगरस्थित नोवेल मेडिकल कलेजमा भर्ना गरियो । नोवेल मेडिकल कलेज तथा अस्पतालका सञ्चालक सुनिल शर्माको छिमेकीसमेत रहेकी ७० वर्षीया उनको बुधबार राति नै ९ बजे शल्यक्रिया गर्ने तयारी भयो । सबै टेस्ट पूरा भएर बिल पनि काटियो । तर, शल्यक्रिया गर्ने अन्तिम तयारी हुँदै गर्दा वृद्धाले खोकिन् ।
शल्यक्रियाको सम्पूर्ण तयारी पूरा भए पनि वृद्धाले खोकेपछि चिकित्सकहरू एकाएक पन्छिए । ‘कोरोना पनि रहेछ, यहाँ शल्यक्रिया हुँदैन’ भनेका चिकित्सकहरूले विहीबार बिहान भने शल्यक्रिया गर्ने चिकित्सक अभाव भएको भन्दै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिदिए ।
दुई दिनदेखि केही नखाएकी वृद्धालाई घरमै लगेर खानेकुरा खुवाएपछि बिहीबारै अपराह्न ३ बजे बिपी प्रतिष्ठान पुऱ्याइयो । उनको राति नै एपेन्डिक्सको शल्यक्रिया भयो । ‘राम्रो अस्पताल ठानेर नोवेल लगियो, तर त्यहाँका चिकित्सकले बिरामीले खोकेको भन्दै बिपी रेफर गरिदिए,’ वृद्धाका छोराले भने, ‘हामी त प्रतिनिधि पात्र मात्र हौँ । नोवेलले खोक्यो भने सामान्य बिरामीलाई पनि फर्काइदिँदो रहेछ ।’