स्वास्थ्य क्षेत्रका कर्मचारीले सुत्केरी र किरियाबाहेकका बिदा नपाउने

गण्डकी प्रदेशमा स्वास्थ्य क्षेत्रका कुनै पनि कर्मचारीलाई सुत्केरी र किरिया बिदाबाहेक अन्य कुनै पनि बिदा नपाउने भएका छन् । गण्डकी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले कोरोना सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचार तयारीका सम्बन्धमा गरेको निर्णयअनुसार त्यस्ता कर्मचारीहरुको राजीनामा समेत स्वीकृत नगरिने भएको छ ।

प्रदेश सरकारका प्रवक्ता एवं मन्त्री रामशरण बस्नेतले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सबै कर्मचारीलाई तयारी अवस्थामा राख्नुपर्ने भएकाले सामाजिक विकास मन्त्रालय तथा मातहतका निकाय एवं स्वास्थ्य सेवासँग आबद्ध निकायका कर्मचारीलाई सुत्केरी बिदा र किरिया बिदाबाहेक अन्य बिदा स्वीकृति नगर्ने निर्णय गरेको जानकारी गराए । यसअघि स्वीकृत भएका बिदा रद्द गर्ने र अहिलेको अवस्थामा स्वास्थ्य सेवामा आबद्ध कर्मचारीको राजीनामा समेत स्वीकृत नगर्ने निर्णय गरेको उनले बताए ।



मन्त्रिपरिषद्ले कोभिड–१९ रोगको रोकथाम, नियन्त्रण तथा उपचारका सम्बन्धमा कर्मचारीलाई तयारी हालतमा राख्नुपर्ने भएको हुँदा सामाजिक विकास मन्त्रालय तथा मातहतका निकाय एवं स्वास्थ्य सेवासँग आबद्ध निकायका कर्मचारीका सुत्केरी बिदा तथा किरिया बिदाबाहेकका अन्य बिदा स्वीकृत नगर्ने, स्वीकृत भइसकेका बिदासमेत रद्द गरी त्यस्ता कर्मचारीलाई तयारी हालतमा राख्ने र अर्को आदेश नभएसम्मका लागि स्वास्थ्य सेवासँग आबद्ध कर्मचारीको राजीनामा समेत स्वीकृत नगर्न सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।

उपचारका सम्बन्धमा आवश्यक पर्ने सामग्री, औषधि तथा उपकरण प्रतिस्पर्धाका आधारमा तत्काल खरिद गर्ने व्यवस्था सामाजिक विकास मन्त्रालयले मिलाउने र निर्धारित अवधिभित्र प्रतिस्पर्धाका आधारमा पर्याप्त सामग्री, औषधि तथा उपकरण आपूर्ति हुन नसकेमा नेपाल सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा अन्य सम्बद्ध निकाय समेतसँग आवश्यक समन्वय गरी सहज आपूर्तिको व्यवस्था मिलाउने निर्णय गरेको छ ।

त्यसैगरी सरकारी निकाय वा निजी वा सामुदायिक क्षेत्रका वा विश्वविद्यालय वा अन्य शैक्षिक क्षेत्रका अस्पताल तथा स्वास्थ्य संस्थाले आफू कहाँ आएका जुनसुकै बिरामीलाई अनिवार्यरुपमा उपचारको व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ ।

सम्बन्धित समाचार