नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले मङ्गलबार अपराह्न ४ः०० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको जानकारी दिए ।
उनका अनुसार बैठकमा कोभिड–१९ र समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल हुने छ । बन्दाबन्दी (लकडाउन) पछि पहिलोपटक नेकपाले बैठक बोलाएको हो ।
यता सरकारले कोभिड–१९ नियन्त्रणका लागि जारी गरिएको बन्दाबन्दी आगामी वैशाख ३ गते राति १२ बजेसम्मका लागि बढाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले बाह्य क्षेत्रबाट कोरोना भाइरसको संक्रमण नहोस् भन्नाका लागि अन्तरराष्ट्रिय सीमानाका २०७७ साल वैशाख ३ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए ।
सरकारले संक्रमण रोगसम्बन्धी ऐन, २०२० अनुसार यही चैत ११ देखि १८ गते राति १२ बजेसम्मका लागि लकडाउन जारी गरेको थियो । सरकारले नाकाहरु बन्द गरे पनि ढुवानीलाई भने कायमै राखेको छ । त्यसैगरी स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन गर्न एक पटकका लागि रु एक हजार ५०० एकमुष्ट सहयोग गर्ने निर्णय गरिएको छ ।