कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं. ६ रंगपुरकी अन्दाजी ३६ बर्षीया कलामुन निशाको अस्पतालले उपचार गर्न नमान्दा मृत्यु भएको छ । आइतबार राति ज्वरोले च्यापेपछि निशालाई निजि सवारीसाधनको सहायताले कपिलवस्तु अस्पताल तौलिहवा ल्याइएको थियो ।
तर त्यहाँ पूर्णउपचार हुन नसकेपछि भैरहवा मेडिकल कलेजमा उपचारका लागि रेफर गरिएकोमा त्यहाँ भर्ना गर्न नमान्दा निशाको उपचार अभावमा मृत्यु भएको आफन्तले जनाएका छन् । भैरहवा मेडिकल कलेजले पनि उनलाई भर्ना नलिएपछि पुनः कपिलवस्तु अस्पताल ल्याइएको थियो । तर उनको अस्पताल परिसरबाटै चिकित्सकले मृत घोषणा गरिदिएको वडा अध्यक्ष श्याम नरायाण उपाध्यायले जानकारी दिए ।
मृतक निशालाई तीन दिन पहिला सामान्य ज्वरो आएर तौलिहवास्थित एक मेडिकलबाट औषधि खुवाइएको बताइएको छ । कपिलवस्तु अस्पतालका मेसु डा किशोर बञ्जाडले भने बिरामी ल्याएको तर उनको एम्बुलेन्समा नै मृत्यु भएको परिवारलाई जानकारी गराएको बताएका छन् ।
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले कपिलवस्तु अस्पतालमा निशाको उपचार भएपनि भैरहवामा के कारणले भर्ना गरिएन भन्नेबारे जानकारी नभएको बताएका छन् ।