विश्वव्यापी महामारीको रुप लिएको कोरोना (कोभिड–१९) कोरोना संक्रमणबाट संयुक्त अरब एमिरेट्स ९युएई० को दुबई शहरमा रुपन्देही घर भएकी एक नेपाली महिलाको ज्यान गएको छ ।
कोरोना भाइरसबाट ४० वर्षीय नेपाली महिलाको बर दुबईमा ज्यान गएको आबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ । मृतक महिलाको नेपाल ठेगाना रुपन्देहीको देवदह नगरपालिका–५ प्रगतिबजार हो । ‘नेपाली महिला निधन भएको दुःखद सूचना दूतावासले केही दिन अगाडि पाएको हो । शुरुमा नर्मल डेथ भनिएको थियो’, दूतावासकी नियोग उपप्रमुख रिता धितालले भनिन्, ‘पछि शवको मेडिकल जाँच गर्दा कोरोना पोजेटिभ देखिएछ । हस्पिटलले त्यो सर्टिफिकेट परिवार सदस्यलाई दिएको छ ।’
ती महिला भारतीयको घरमा घरेलु कामदारको रुपमा काम गर्दै आएको जनाइएको छ । एक दशकदेखि दुबई बस्दै आएकी उनको मृत्यु अगाडि कोरोना परीक्षण तथा उपचार भए–नभएको खुलेको छैन । देवदहस्थित परिवार स्रोतका अनुसार उनी मुटुको रोगबाट समेत पीडित थिइन् ।
नेपालीको रोजगार गन्तव्य युएईमा २ लाख ७५ हजार नेपाली छन् । अहिलेसम्म त्यहाँ ११ नेपालीमा कोरोना संक्रमण देखिएको छ । जम्मा ११ जना भनिए पनि दुई जना निको भइसकेको र ९ जनाले उपचारपछि स्वास्थ्य लाभ गरिरहेको धितालले जानकारी दिएकी छन् ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार युएइमा मंगलबारसम्म कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । २ हजार ७६ जना संक्रमित छन् । युएईमा सोमबार थप तीन नेपालीलाई कोरोना देखिएको जनाइएको छ ।