बालिका बलात्कार गरेको आरोपमा मोरङको पथरीशनिश्चरे नगरपालिकाबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय पथरीका अनुसार गत मंसिर २४ गते र चैत्र ८ गते भएको बलात्कारको घटनाका आरोपीलाई पक्राउ गरिएको हो । प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक दिपीप गिरीले दुवै घटनामा संलग्न २८ वर्षीय रामकुमार माझी र २० वर्षीय विशाल माझी पक्राउ गरेको जानकारी दिए ।
पक्राउ परेका रामकुमार, मंसिर २४ र बिशाल, चैत्र ८ गते भएको बलात्कार घटनामा संलग्न रहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।
पक्राउ परेका रामकुमारले बलात्कार गर्दा बालिका गर्भवती पनि भएको खुलेको छ । विभिन्न डर, त्रास र धम्की दिँदै बलात्कार गरेका कारण बलात्कारबाट पीडित बनेर गर्भवती हुँदा पनि बालिकाले लामो समयसम्म घटना गोप्य राखेको गिरीले जानकारी दिए ।
बालिकाले आफन्तलाई पनि दोस्रो पटक बलात्कृत भएको घटनाका बारेमा मात्रै सुनाएको गिरीले बताए । गत मंसिरमा पहिलोपटक रामकुमारबाट बालिका बलात्कृत भएको र पेटमा बच्चा रहेको पुष्टि भएको प्रहरीको भनाइ छ। ‘
अदालत खुलेपछि दुवै जना विरुद्ध जबरजस्ती करणी मुद्दामा म्याद थप गरेर अनुसन्धान अघि बढाउँदै कानुनी प्रक्रिया सुरु गरिने प्रहरीले जनाएको छ।