यस्ता छन् नेपालमा कोरोना कम देखिनुका पाँच सम्भावित कारण

विकसित देशहरूमा कोरोनाभाइरसको सङ्क्रमण धेरै फैलिएको बेला नेपालमा भने हालसम्म सङ्क्रमण देखिएकाहरूको सङ्ख्या कम रहेको छ ।

सरकारी तथ्याङ्क अनुसार हालसम्म नेपालमा ९ जना व्यक्तिमा मात्र कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । त्यसमध्ये एक जना निको भइसकेका छन् भने ८ जनालाई विभिन्न स्थानमा आइसोलेशनमा अर्थात एकान्तमा राखेर उपचार गरिँदैछ। बुधवार साँझसम्मको विवरण अनुसार सङ्क्रमणको आशंकामा थप १ सय ३४ जनालाई आइसोलेशनमा राखिएको छ।



नेपालमा भेटिएका सङ्क्रमितमध्ये ८ जना विदेशबाट आएका छन् भने एकजना विदेशबाट आएका व्यक्तिकी आफन्त रहेकी छन् ।

नेपालमा कोरोना कम देखिनुका विज्ञहरूले देखेका पाँच सम्भावित कारणहरु:

१. परीक्षण नै नहुनु

कतिपय चिकित्सकहरूले नेपालमा परीक्षण नै कम भएका कारण सङ्क्रमितको सङ्ख्या कम देखिएको बताएका छन् ।

उनीहरूका भनाइमा जति थोरै परीक्षण भएको छ त्यसैका आधारमा नेपालमा कोरोनाभाइरस धेरै फैलिएको छैन भन्न सकिँदैन । स्वास्थ मन्त्रालयका अनुसार बुधवारसम्म कुल २ हजार ३ सय ६६ वटा नमुनाको परीक्षण गरिएको छ ।

त्यसमध्ये २ हजार ३ सय ५७ नमुनामा सङ्क्रमण देखिएको छैन ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका पूर्व प्रमुख डा। बाबुराम मरासिनी नेपालमा परीक्षणको गति र सङ्ख्या बढाउनु पर्ने बताउँछन् ।

उनी भन्छन्, यो कुरा त हामीले सुरुदेखि नै भनिरहेका छौँ । विशेषगरी ज्यानुअरीदेखि नेपालमा धेरै पर्यटकहरू आए त्यसबेला नै नेपालमा धेरैमा सङ्क्रमण भएको पनि हुनसक्छ । त्यस्तो सङ्क्रमण समयक्रममा आफैँ ठीक भएर गएको हुन सक्ने उनको भनाइ छ ।

२. नेपालीको जीवनशैली

कतिपय चिकित्सकहरूले नेपालीहरूको जीवनशैलीका कारण पनि कोरोनाभाइरसको सङ्क्रमण धेरै नफैलिएको हुनसक्ने तर्क गर्ने गरेका छन् । तर उनीहरूकै भनाइमा यसबारे विस्तृत अध्ययन नभई ठोकुवा गर्न भने सकिँदैन ।

त्यस्तै दाबी गर्नेमध्येका एकजना चिकित्सक हुन्(शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल क्लिनिकल अनुसन्धान एकाइका प्रमुख डा. शेरबहादुर पुन ।

उनले विभिन्न पत्रपत्रिकामा आलेख नै प्रकाशित गरेर नेपाली जीवनशैलीको प्रभावले कोरोनाभाइरस फैलने सञ्जालहरू भत्किएको हुनसक्ने उल्लेख गरेका छन् ।

उनले भने, हामीले धेरै पानी खेलाउने रहेछौँ अनि खानेकुराहरू पनि धेरै पकाएर खान्छौँ । त्यस्तै हात मिलाउने, अङ्कमाल गर्ने वा म्वाइँ खाने चलन पनि हाम्रोमा कमै छ । यस्ता क्रियाकलापले कोरोनाभाइरस फैलनबाट रोकेको हुनसक्छ ।

उनले नेपालमा विगतमा सार्स र स्वाइन फ्लूको सङ्क्रमण पनि अन्यत्रजस्तो नदेखिएको स्मरण गर्दै अन्यत्रको हेरी भारतमा पनि सङ्क्रमणको फैलावट दर कम भएको बताए ।

पुनले भने, हाम्रो खानपान र जीवनशैलीले कोरोनाभाइरस फैलने साङ्गलोलाई कतै न कतै चुडाँइरहेको छ भन्ने एउटा दरिलो तर्क हो।

३. नेपालीको प्रतिरक्षा प्रणाली बलियो हुनु

विज्ञहरू नेपालीहरूमा रहेको औसत प्रतिरक्षा प्रणाली अन्यको तुलनामा फरक भएकाले पनि कोरोनाभाइरसको फैलावट कम भएको हुनसक्ने बताउँछन् ।

परीक्षण कम भएको अवस्थामा पनि नेपालमा कोरोनाभाइरससँग मिल्दोजुल्दो सङ्क्रमण एउटै टोल वा गाउँमा फैलिएको खबर अहिलेसम्म नआएको कुराले त्यसलाई पुष्टि गर्ने उनीहरूको तर्क छ।

उनीहरूका बुझाइमा कोरोनाभाइरस फैलिएकै भए पनि नेपालीहरूको प्रतिरक्षा प्रणालीका कारण सामान्य लक्षणहरू मात्र देखिँदा धेरै अस्पतालसम्म नपुगेका हुनसक्छन् ।

४. बीसीजी खोपको प्रभाव

क्षयरोगबाट बच्नका लागि बीसीजी खोप दिने गरिन्छ । कोरोनाभाइरस सङ्क्रमण फैलिएपछि अहिले उक्त खोपलाई लिएर विश्वभरि नै बहस चलिरहेको छ ।

बीबीसी विश्व सेवाका अनुसार हालैको एउटा समिक्षा हुन बाँकी अध्ययनले जुन देशहरूमा बीसीजी खोप दिइएको थियो ती देशहरूमा कोरोनाभाइरस सङ्क्रमण कम देखिएको जनाएको छ । नेपालमा पनि बालबालिकाहरूलाई यो खोप अनिवार्य रूपमा लगाइदिने गरिन्छ।

त्यसले गर्दा पनि नेपालमा सङ्क्रमण कम फैलिएको र सङ्क्रमितहरूलाई पनि उक्त खोपको प्रभावका कारण सामान्य लक्षणहरू मात्र देखिएको हुनसक्ने विज्ञहरूको भनाइ छ।

५. भाइरस फैलाउने पूर्वाधार नै कम हुनु

विशेषगरि कम विकसित देशहरूमा कोरोनाभाइरसको सङ्क्रमण निकै कम देखिनुको अर्को कारण भनेको भाइरस फैलाउन मद्दत गर्ने खालका शहरी पूर्वाधारकै कमी हुनसक्ने पनि चिकित्सकहरूको तर्क छ ।

विकसित देशहरूमा जमिनमुनी सब वे र मेट्रो रेललगायतका यातायातका संरचनाहरू रहेका छन्। त्यस्ता पूर्वधार भारतका महानगरहरूमा पनि बनेका छन् नेपालमा प्रायस् यातायातका साधनहरूमा भिडभाड भए पनि घामको प्रकाशमै हिँड्ने खालका रहेको र सार्वजनिक यातायातमा विदेशीहरू चढ्दै नचढ्ने गरेकाले सङ्क्रमण कम भएको हुनसक्ने उनको तर्क छ ।

तर नेपालमा काठमाण्डू भित्र केही स्थानमा बाहेक अन्यत्र यस्ता पूर्वाधार नै नभएकाले पनि सङ्क्रमणको फैलावटको साङ्लो चुँडाएको हुनसक्ने विज्ञहरूको भनाइ छ ।

बीबीसीको सहयोगमा

सम्बन्धित समाचार