जालिम मुखिया नामका एक व्यक्तिले ४० जना कोरोना भाइरसका शंकास्पद संक्रमित पठाएको दावी सहित भारतीय मिडियाले समाचार प्रसारण गरेपछि गृह मन्त्रालयले चासो देखाएको छ । गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले यसबारेका अपवाह फैलिएलगत्तै जिल्ला प्रशासन कार्यालय पर्सालाई उक्त विषयमा सत्यतथ्य बुझ्न निर्देशन दिइएको जानकारी दिए ।
नेपालका जालिम मुखिया नामका एक व्यक्तिले वीरगञ्जबाट रक्सौल हुँदै ४० जना शंकास्पद कोरोना भाइरसका संक्रमितलाई नियतबस विहार पठाएको भारतीय मिडियाहरुले शनिबारदेखि सार्वजनिक गरेको समाचारहरुमा उल्लेख छ । ‘यदी त्यस्तो हो भने भारतीय पक्षबाट पनि लिखित पत्र आउनुपर्ने हो, अहिलेसम्म त्यस्तो केही जानकारी आएको छैन तैपनि हामीले पर्सा प्रशासनलाई यसबारे बुझ्न भनिसकेका छौं,’ गृह सहप्रवक्ता अधिकारीले भने ।
भारतीय सीमा सुक्षा बल एसएसबीको एक पत्रलाई उदृत गर्दै भारतीय समाचार संस्थाहरुले प्राथमिकताका साथ उक्त समाचार प्रसारण गरेपछि सीमावर्ती क्षेत्रमा सुरक्षा तैनाथी समेत बढाइएको छ ।