कोरोनाभाइरसको संक्रमणबाट हालसम्म १४ नेपालीको मृत्यु भएको छ भने ६७५ बढी संक्रमित भएका छन् । कतिपयले यसको संक्रमण लुकाउँदा विवरण संकलनमा समस्या भएको एनआरएनएले जनाएको छ ।
गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समितिअन्तरर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा ८, अमेरिकामा ५, युएईमा १ जनाको मृत्यु भएको हो ।
यस्तै ६ सय ७५ जना गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिए । उनकाअनुसार अमेरिकामा ५०० बढी नेपाली संक्रमित भएका छन् भने बेलायतमा १०० बढी संक्रमित रहेका छन् ।
यस्तै स्पेनमा १८, जर्मनीमा ४, पोर्चुगलमा २२, अस्ट्रेलियामा ९, युएईमा १०, साउदी अरेबियामा ४, कुवेतमा ५, जापानमा १, मलेसियामा १ र हङकङमा १ जनामा संक्रमण पुष्टि भएको छ । अन्य देशमा पनि विवरण संकलनको क्रममा रहेको एनआरएनले जनाएको छ ।