कोरोना भाइरसका कारण रिलिज हुन नपाएका बिग बजेटका बलिउड फिल्म

कोभिड–१९ का कारण भारतको सिनेमा उद्योग पूरै ठप्प छ । कुनै फिल्म छायांकन भइरहेका छैनन् भने कार्यक्रम पनि स्थगित गरिएका छन् । गत महिनासम्म बलिउडका दर्शक रोहित सेट्टीको सुपरकप युनिभर्सको फिल्म ‘सूर्यवंशी’ लाई लिएर प्रतीक्षित थिए ।

यो फिल्मले बक्स अफिसमा पनि गज्जबको व्यापार गर्ने अनुमान गरिएको थियो । फिल्म भारतमा विदाको दिन पारेर रिलिज हुने घोषणा गरिएको थियो । तर, कोरोनाभाइरसका कारण भारतमा २१ दिने लकडाउन गरियो । अब यो लकडाउन पुनः लम्बिने भएको छ ।



अक्षय कुमार स्टारर फिल्म ‘सूर्यवंशी’ को रिलिज मिति स्थगित गरिएको थियो । यो मात्र होइन, रणवीर सिंहको फिल्म ‘८३’ को प्रदर्शन मिति पनि स्थगित गरियो । रणवीर सिंह र दीपिका कपूर स्टारर यो फिल्म अप्रिल १० मा रिलिज हुने क्रममा थियो ।

फिल्मका निर्देशकले भनेका थिए – पूरै पृथ्वीका मान्छे घरमा बसिरहेका छन्, उनीहरुलाई फिल्म हेर्ने काम कम महत्त्व लाग्न सक्छ । यस्तै कंगना रनावतको फिल्म ‘थलाइवी’ को छायांकन स्थगित गर्नुपर्ने अवस्था आयो । कंगना शूटिङका लागि तमिल नाडुमा थिइन् । ४५ जनाभन्दा बढी जम्मा हुन नदिएपछि उनीहरुले शूटिङ स्थगित गरेर मुम्बई फर्किएका थिए ।

दीपिका पादुकोण नयाँ फिल्म छायांकनका लागि श्रीलंका जाने योजनामा थिइन् । धन्न पहिले नै लकडाउन भयो । यतिबेला बलिउडकर्मीसँग प्रशस्त समय छ । उनीहरु सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय देखिएका छन् ।

धेरै सेलिब्रेटीले घरमा काम गरेको भिडियो पनि सामाजिक सञ्जालका माध्यमबाट शेयर गरेका छन् । हालै सलमान खानले भिडियो शेयर गर्दै भनेका थिए – जो डरायो, उसैले बाँच्यो र बचायो ।

उनले कोरोना भाइरसबाट बच्न घरभित्र बस्न समेत अनुरोध गरेका छन् । करण जोहरको फिल्म ‘तख्त’ को पनि शूटिङ शुरु हुने योजना थियो । कोरोना भाइरसका यो योजना पछि स–यो । बलिउडका ठूला निर्माण कम्पनीसँग कैयन् फिल्म प्रदर्शनका लागि तयार छन् । तर, ती फिल्म लकडाउनका कारण रोकिएका छन् ।

अर्कातिर बलिउड सेलिब्रेटीहरु लकडाउनको मारमा परेका मजदुरको सहयोगमा पनि जुटेका छन् ।

सम्बन्धित समाचार