लकडाउनले समस्या नै समस्या उत्पन्न भयोः मुख्यमन्त्री पौडेल

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरसका कारण लकडाउन गर्नु पर्दा देशमा समस्या नै समस्या उत्पन्न भएको बताएका छन् । आज प्रदेशका सुरक्षा प्रमुखहरुलाई लकडाउनलाई व्यवस्थित र प्रभावकारी बनाउन निर्देशन दिंदै मुख्यमन्त्री पौडेलले समस्या नै समस्याका बीचमा पनि काम गर्नुपर्ने बाध्यता रहेको उल्लेख गरे ।

उनले व्यावहारिक भएर लकडाउनलाई कडा गर्न आग्रह गरे । लकडाउनलाई कानूनको उल्लङ्घन नहुने गरी कडा बनाउनुपर्ने उनको भनाइ थियो । मुख्यमन्त्री पौडेलले प्रदेशको राजधानी तथा प्रदेशका १३ वटै जिल्लाका बजारमा भीड बढेको सूचना आइरहेकाले लकडाउनको प्रभावकारितामा नै प्रश्न उठ्ने बताउँदै तत्काल ध्यान दिन अनुरोध गरे ।



मुख्यमन्त्री पौडेलले काठमाडौंलगायत देशका विभिन्न क्षेत्रबाट आफ्नो घर पुग्न पैदल हिँडेका व्यक्तिहरुको भने उचित व्यवस्थापनमा गरिनुपर्ने बताए । उनले एक पालिकाबाट अर्को पालिका आउजाउ गर्न नै नदिने गरी काम गर्न सुरक्षा प्रमुखलाई निर्देशन दिए । मुख्यमन्त्री पौडेलले आवाससहितका उद्योगलाई भने सामाजिक र व्यक्ति व्यक्तिबीचको दूरी कायम गरेर तथा मापदण्डभित्र रही उत्पादन शुरु गर्न दिन अनुरोध गरे । मुख्यमन्त्री पौडेलले कृषि उपजको उत्पादन, व्यवस्थापन र बजारीकरणलाई भने सहज आपूर्ति तथा बिक्री वितरणको व्यवस्था गर्न निर्देशन दिए ।

सम्बन्धित समाचार