कोरोना भाइरस (कोभिड– १९) संक्रमण फैलिन नदिन नेपाल–भारत सीमा क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिने भएको छ । सोमबार दिउँसो गृह मन्त्रालयमा भएको छलफलमा पहाडी तथा हिमाली जिल्लामा रहेका सशस्त्र प्रहरी बलका अत्यावश्यकबाहेकका कर्मचारीलाई तराईका जिल्लाहरूमा ल्याएर सीमा सुरक्षामा परिचालन गर्न आवश्यक व्यवस्था गर्ने निर्णय भएको हो ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गृहसचिव महेश्वर न्यौपानेमार्फत सशस्त्र प्रहरीका आइजिपी शैलेन्द्र खनाललाई पहाडी र हिमाली जिल्लामा रहेका सशस्त्र प्रहरीलाई नेपाल–भारत सीमा क्षेत्रमा खटाउन निर्देशन दिएका हुन् । यस्तै उनले नेपाल प्रहरीको पनि थप जनशक्ति तराईका जिल्लामा पठाउन आवश्यक व्यवस्था गर्न निर्देशन दिएका छन् ।
पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा नेपाल–भारत सीमा क्षेत्रमा कोरोना संक्रमणको जोखिम बढेको छ । सशस्त्र प्रहरीले एक सय २० बिओपीसहित आठ सय अस्थायी चेकपोस्टमार्फत सीमा क्षेत्रमा हुने आवतजावतमा कडाइ गर्दै आएको छ ।