र्यापिड टेष्टमा मंगलबार काभ्रे र धादिङका ३ जना युवामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । र्यापिड टेष्टमा पोजेटिभ देखिएका तीनै जना युवा विदेशबाट नेपाल फर्किएका हुन् । पोजेटिभ देखिएका दुई जना काभ्रेका हुन् भने एक जना धादिङका हुन् ।
काभ्रेको बेथान्चोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकाका एक-एक जनामा र्यापिड डाइग्नोस्टक परीक्षण गर्दा कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएको हो । बेथान्चौक गाउँपालिका वडा नम्वर ५ का २८ वर्षीय युवा चैत्र ९ गते भारतबाट नेपाल आएका थिए भने मण्डन देउपुर नगरपालिका वडा नम्वर ३ नयाँ गाउँका २३ वर्षीय युवा चैत्र ९ गते दुबईबाट स्वदेश फर्किएका थिए । किटमा पोजेटिभ देखिएपछि उनीहरु दुवैलाई धुलिखेल अस्पतालमा भर्ना गरेर पीसीआर विधिबाट स्वाब परीक्षण थालिएको छ।
यस्तै धादिङको ज्वालामुखी गाउँपालिकामा भएको र्यापिड टेष्टमा पनि एक जनामा कोरोना पोजेटिभ देखिएको छ । संक्रमण देखिएका युवा दक्षिण कोरिया बसेर फागुन २० गते घर फर्किएका थिए ।
उनलाई होम क्वारेन्टिनमा राखिएको थियो । गाउँपालिकाको स्वास्थ्य शाखाले आरडीटी परिक्षण गर्दा पोजेटिभ देखिएका २७ वर्षीय युवालाई काठमाडौं पठाउने तयारी भइरहेको स्वास्थ्य संयोजक सुजन श्रेष्ठले जानाकारी दिए ।