कोरोना संक्रमणको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी)मा चितवनको रत्ननगरका एक युवकको रिपोर्ट पोजेटिभ आएको छ । रत्ननगर– १४ पिठुवास्थित गुञ्जमान सिंह अस्पतालमा गरिएको र्यापिड टेस्टमा दक्षिण कोरियाबाट आएका ३९ वर्षीय युवामा कोभिड– १९ को रिपोर्ट पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । अस्पतालका चिकित्सक डा. अंकित श्रीवास्तवका अनुसार ती युवाको र्यापिड टेस्ट पोजेटिभ देखिएपछि कोरोना संक्रमण भए–नभएको पुष्टि गर्न स्वाब परीक्षणका लागि भरतपुरस्थित प्रयोगशालामा ल्याइएको छ ।
डा. श्रीवास्तवले र्यापिड टेस्टमा कोरोना संक्रमण पोजेटिभ देखिए पनि स्वाब परीक्षणको नतिजा आएपछि मात्र कोरोना भए–नभएको पुष्टि हुने बताए । २० फागुनमा कोरियाबाट नेपाल आएका ती युवा १५ दिन होम क्वारेन्टाइनमा बसेको बताइएको छ ।
स्वाब परीक्षणको रिपोर्ट आजै साँझसम्ममा आउने अस्पतालले जनाएको छ । ती युवाको र्यापिड टेस्ट रिपोर्ट पोजेटिभ आएपछि गुञ्जमान सिंह अस्पताल क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।