चिकित्सकमाथि भएको हातपातका विषयमा संघको ध्यानाकर्षण, दोषीमाथि कारबाही गर्न माग

बुधवार राति त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौंमा कार्यरत मेडिसिन विभागका आवासिय चिकित्सकहरु र कान्तीबाल अस्पतालमा न्याम्सका आवासिय चिकित्सकहरु माथि प्रहरीेले गरेको लाठिचार्ज र हातपातको विषयमा नेपाल चिकित्सक संघले ध्यानाकर्षण जनाएको छ ।

कोरोना महामारीको यस्तो भयावह अवस्थामा आफ्नो ज्यानको बाजी लगाएर सेवामा खटिएका स्वास्थ्यकर्मी माथि भएको अमानवीय व्यवहारप्रति ध्यानाकर्षण गर्दै संघले त्यस्ता प्रहरीहरुलाई छानविन गरी कानुनी कारवाही गर्न समेत माग गरेको छ ।



संघले बिहीवार एक विज्ञप्ती जारी गर्दै उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुको सुरक्षा जिम्मा सरकारले लिने भन्ने निर्णण भइसकेको अवस्थामा चिकित्सकमाथि यस्तो अमानवीय व्यवहारले स्तब्ध तुल्याएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘मिति २०७६ चैत्र २२ गतेको मन्त्रीपरिषद्को बुँदा नम्बर २ को निर्णय अनुसार कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारको क्रममा संलग्न चिकित्सक, नर्स, र प्राविधिक स्वास्थ्यकर्मीहरुको सुरक्षाको प्रबन्ध गृह मन्त्रालयले मिलाउने र उपचारको क्रममा संलग्न स्वास्थ्यकर्मीहरुलाई बाधा विरोध गर्ने व्यक्तिहरुलाई डिउटीमा खटिएका सुरक्षाकर्मीको कार्यसम्पादनमा बाधा, विरोध गर्नेलाई हुनेसरहको प्रचलित कानून बमोजिमको कारवाही गर्ने निर्णयको मसि सुक्न नपाउँदै यस्तो दुःखद र निन्दनीय घटना हुनुले नेपाल चिकित्सक संघलाई स्तब्ध तुल्याएको छ ।’

सम्बन्धित समाचार