हेल्थ असिस्टेन्ट संघ नेपाल (हान) ले धरान उपमहानगरपालिकास्थित विष्णुपादुका स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट चन्द्रप्रकाश खनाललाई हातपात गर्ने प्रहरीमाथि कारबाही गर्न माग गरेको छ ।
स्वास्थ्य सेवा प्रवाह गर्ने क्रममा प्रहरीले उनलाई हातपात र लाठीचार्ज गरेको भन्दै हानले दोषी प्रहरीमाथि कडा कारबाहीको माग गरेको हो। बिरामीको उपचारमा खटिएका खनालले आफ्नो परिचय खुलाउँदा पनि प्रहरीले हातपात गरेको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘घटनाको सत्यतथ्य छानबिन गरी घटनामा संलग्न जो कोहीलाई अविलम्ब कानुनी कारबाही गर्न हेल्थ असिस्टेन्स संघ नेपाल (हान) जिल्ला कार्य समिति सुनसरी जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । हानले स्वास्थ्यकर्मी र चिकित्सकको सुरक्षालाई प्राथमिकता दिन, स्वास्थ्य प्राविधिकहरुको आवतजावतलाई सहजीकरण गर्न पनि सरकारसँग माग गरेको छ ।
यसअघि त्रिवि शिक्षण अस्पतालका चिकित्सकमाथि प्रहरीले हातपात गरेको थियो । सो घटनामा संलग्न प्रहरीलाई विभागीय कारबाही गर्ने सहमति भएको छ ।