हाम्रो नेपाल सुशासन अभियानले लकडाउनका बेला अत्यावश्यक काम परी घर बाहिर निस्केका नागरिकहरुमाथि प्रहरीले बल प्रयोग गरेको घटनामा ध्यानाकर्षण भएको जनाएको छ ।
अभियानका संयोजक रमेश खरेलले एक विज्ञप्ति जारी गर्दै औषधिलगायत अत्यावश्यक सामग्री खरिदका लागि बाटोमा निस्किएका नागरिकमाथि प्रहरीद्वारा बल प्रयोगको घटनाप्रति ध्यान आकृष्ट भएको जनाएका छन् ।
सीमित साधन र श्रोतका बाबजूद शान्ति सुरक्षामा अहोरात्र खटिँदा खटिँदै पनि नागरिकमाथिको बलप्रयोगका एकाध घटनाले प्रहरीप्रतिको आम विश्वास टुट्न सक्ने कुरामा सचेत र गम्भीर रहन अभियानले आग्रह गरेको छ ।
‘हामी प्रहरी नेतृत्व लगायत सुरक्षा प्रवन्धमा खटिएका सम्पूर्ण प्रहरी साथी समक्ष त्रासदाको यस्तो समयमा संयमता अपनाई विवेकपूर्ण व्यवहार गरिदिन हुन हार्दिक अपील गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।
‘लकडाउन नियमको उल्लंघन गरी सुरक्षा चुनौती उत्पन्न भएको अवस्थामा पनि कानूनसम्मत सभ्य विधि अपनाउन प्रहरी प्रशासन र ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई हामी अनुरोध गर्दछौं’पूर्व डिआइजी समेत रहेका खरेलले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ ।
यस्तो छ विज्ञप्तिको पूर्ण अंश
कोरोना भाइरसको त्रासदपूर्ण माहाव्याधीका कारण हामी धेरै दिनदेखि लकडाउनको अवस्थामा छौँ । महामारीको यस्तो अवस्थामा संक्रमणवाट वच्नका लागि समाजिक दूरी बनाउनुको विकल्प छैन। यस्तो विषम परिस्थितिमा एउटा जिम्मेवार अभिभावकको भूमिका निर्वाह गर्नु पर्ने सरकार अकर्मण्य देखिएको छ।
आफ्ना नागरिक प्रतिको अमानवीय व्यवहार र स्वास्थ्य सामाग्री खरिदमा अपारदर्शिता र लूटतन्त्रका कारण नागरिकको सरकारमाथिको भरोसा उठेको छ। तर सरकार संचालकका अकर्मण्यता र अविवेकी रवैयाका बाबजूद पनि समस्त नेपाली नागरीक़, स्वास्थ्यकर्मी, सुरक्षा प्रवन्धनमा खटिएका सुरक्षाकर्मीद्वारा प्रदर्शित धैर्यता, अनुशासन र कर्तव्यपरायणता प्रशंसनीय छ।
कोरोनाको महाव्याधीले विश्वका सबै देश र समुदायलाई नराम्ररी आक्रान्त बनाएको छ । चैते डढेलोसरी फैलदो कोरोना संक्रमणका असर दीर्घकालीन र बहु्आयामिक हुने निश्चित छ। कोरोना भाइरस प्रतिरोधी औषधि वा खोप हालसम्म फेला नपर्नुले हामी सबैलाई चिन्तित पारेको छ। त्यसैले अहिलेका लागि सबैले संयमता अपनाउदै बुद्धि र विवेक प्रयोग गर्दै पारस्परिक सहयोगको भावनालाई उच्चतम विन्दुमा पुर्याउनुको विकल्प हाम्रा सामु छैनन् ।
औषधिलगायत अत्यावश्यक समाग्री खरिद निम्ति बाटोमा निस्किएका नागरिकमाथि प्रहरीद्वारा वल प्रयोगका घटनाप्रति हाम्रो ध्यान आकृष्ट भएको छ। सीमित साधन र श्रोतका बाबजूद शान्ति सुरक्षामा अहोरात्र खटिदा खटिदै पनि नागरिकमाथिको वलप्रयोगका एकाध घटनाले प्रहरीप्रतिको आम विश्वास टुट्न सक्ने कुराप्रति हामी अत्यन्त गम्भीर भएका छौं ।
तसर्थ हामी प्रहरी नेतृत्व लगायत सुरक्षा प्रवन्धनमा खटिएका सम्पूर्ण प्रहरी साथी समक्ष त्रासादको यस्तो समयमा संयमता अपनाई विवेकपुर्ण ब्यबहार गरिदिन हुन हार्दिक अपील गर्दछौं। यदि कसैले नियम उल्लघन गरी सुरक्षा चुनौती उत्पन्न गर्दछ भने त्यस अवस्थामा पनि कानूनसम्मत सभ्य विधि अपनाउन प्रहरी प्रशासन र ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई हामी अनुरोध गर्दछौं ।