लकडाउन कडा पार्न प्रधानमन्त्रीको निर्देशन, अलपत्र मजदुरबारे मौन

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन अझ कडा पार्न निर्देशन दिएका छन् । शुक्रबार साँझ मन्त्रिसहित कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका सदस्यहरुलाई बोलाएर प्रधानमन्त्री ओलीले लकडाउनलाई कडीकडाउ गर्न निर्देशन दिएका हुन् ।

मन्त्री तथा उच्चस्तरीय समितिका सदस्यसहित सुरक्षा अंगका प्रमुखहरुलाई बालुवाटारमा बोलाएर निर्देशन दिँदै प्रधानमन्त्री ओलीले सरकारको निर्णय नमान्ने जोकसैलाई कारवाहीको दायरामा ल्याउन समेत भनेका छन् । प्रधानमन्त्री ओलीले दिएको निर्देशन उद्धृत गर्दै एक सुरक्षा अंगका प्रमुखले भने, ‘लकडाउन सवैका लागि हो । यसको कार्यान्वयन गर्ने मुख्य दायित्व सुरक्षा निकायको हो, यस्तो अवस्थामा सुरक्षा निकाय के हेरेर बसेको छ ?’ प्रधानमन्त्री ओलीको प्रश्न थियो ।



तर बैठकमा अलपत्र मजदुरका बारेमा भने प्रधानमन्त्री ओली मौन प्रायः बसे । एक मन्त्रीका अनुसार लकडाउन प्रभावकारी बनाउने भनिएपनि पैदल हिँडेर अलपत्र परेका मजदुरका बारेमा खासै छलफल र निर्देशन भएन । सरकारले लकडाउनपछि मर्कामा परेका मजदुर वर्गको व्यवस्थापन गर्न नसकेको भन्दै चर्को आलोचना भइरहेका बेला प्रधानमन्त्रीले विशेष बैठक बोलाएर उनीहरुको व्यवस्थापन गर्ने अपेक्षा गरिएको थियो ।

सम्बन्धित समाचार