प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका सबै एम्बुलेन्सलाई सरकार मातहत सञ्चालन गर्ने गरी व्यवस्थापन गर्न निर्देशन दिएका छन् । प्रदेशको कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको आजको बैठकमा मुख्यमन्त्री पौडेलले प्रदेशका सबै जिल्लाका कमाण्ड पोष्टले एम्बुलेन्स खिचेर सञ्चालन गर्नुपर्ने धारणा राखे ।
राज्यबाट छुट लिएर सञ्चालन भएका कतिपय एम्बुलेन्सले राज्यलाई सङ्कट पर्दा असहयोग गरिरहेको भन्दै उनले साविकका सञ्चालक वा चालकले एम्बुलेन्स चलाउन नमाने सरकारी चालक परिचालन गरेर भए पनि एम्बुलेन्स चलाइने बताए । पौडेलले निश्चित दूरी कायम गरेर कृषि कार्य गर्न दिने गरी योजना बनाउनुपर्ने धारणा राखे ।
समितिका संयोजकसमेत रहेका मुख्यमन्त्री पौडेलले आवश्यक सुरक्षा अपनाएर निर्वाधरुपमा खेतीपाती गर्न किसानलाई अनुरोध गरेर उत्पादनमा लाग्न प्रेरित गरिनुपर्ने बताए । उनले स्थानीय तहलाई सावधानी अपनाएर र दूरी व्यवस्थापन गरेर सकिने काम गराउन लगाउनेतर्फ सोच्नुपर्ने उल्लेख गरे ।