सर्लाहीमा र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) गर्दा एक जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । सर्लाहीको क्वारेन्टाइनमा रहेका ६५ जनालाई र्यापिड टेष्ट गर्दा एक जनामा पोजेटिभ देखिएको हो । सर्लाहीको धनकौल गाउँपालिकाको क्वारेन्टाइनमा रहेका १४ वर्षीय बालकलाई शुक्रबार साँझ आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले पुष्टि गरे ।
कोरोना पोजेटिभ देखिएका बालकको ‘स्वाब’ थप परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको प्रजिअ जिसीले बताए । ती बालक चैत २३ गते भारतको राजधानी दिल्लीबाट आफ्नो गाउँ धनकौल आएका थिए ।
भारतबाट आएको जानकारी सुरक्षाकर्मीलाई थाहा भएपछि ती बालकलाई आफ्नो घर नपुग्दै क्वारेन्टाइनमा राखिएको थियो ।