विश्वव्यापी कोरोना (कोभिड–१९) भाइरस बढ्दो संक्रमणका कारण यस वर्षको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गतको कोरियन भाषा परीक्षा पनि प्रभावित भएको छ ।
कोरियाले २०२१ लागि हुने परीक्षाका लागि अहिलेसम्म कोटा पठाए पनि कार्यतालिका पठाएको छैन । जसका कारण परीक्षा सञ्चालकदेखि परीक्षाको तयारी गरिरहेका सबैलाई अन्योल भएको छ । नेपालमा समेत कोरोनाका संक्रमित थपिन थालेका कारण आफ्नो तर्फबाट गर्नुपर्ने तायरी पूरा गर्न नसकेको ईपीएस कोरिया शाखाका निर्देशक कृष्ण खनाल बताउँछन् ।
यो वर्षदेखि कम्प्युटर प्रणालीबाट परीक्षा लिने तय भए पनि त्यसको तयारी सकिएको छैन । खनालका अनुसार यो वर्ष कोरियाले ५ हजारभन्दा बढी कामदार लैजाने गरी कोटा ९सिलिङ० पठाइसकेको छ । तर, प्रत्येक वर्ष चैतमा नै आवेदन लिने गरिएकोमा यो वर्ष लकडाउनका कारण प्रक्रिया अघि बढ्न नसकेको जानकारी दिएका छन् ।
केही वर्षदेखि कोरियन भाषा परीक्षा जेठको अन्तिम सातामा गरिंदै आएको थियो । तर, यस पटक कोरोना रोकथामका लागि जारी लकडाउनका कारण परीक्षाका लागि आवश्यक तयारी नभएकाले परीक्षा अनिश्चित भएको हो ।
सन् २०२० का लागि कोरिया भाषा परीक्षा पास भएका १२ हजार कामदार अझै जाने क्रम शुरु भएको छैन । कोरोनाको महामारीअघिसम्म २०१८ र १९ का लागि पास भएकाहरु गइरहेका थिए । २०२० को लागि भाषा परीक्षा पास गरेकाहरुले अहिले ‘लेबर कन्ट्रयाक्ट आइरहे पनि उनीहरु जानसक्ने अवस्था छैन । भाषा परीक्षा पास भएको २ वर्षसम्म ‘लेबर कन्ट्रयाक्ट’ आएका कामदार कोरियामा जान पाउने व्यवस्था छ ।