प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शनिबार भेटवार्ता भएको छ । कोरोना भाइरसले सिर्जना गरेको जटिल स्थिति, ‘लकडाउन’लाई प्रभावकारी बनाउने विषय र बिचल्लीमा परेका नागरिकहरूलाई राहत दिने विषयमा छलफलका लागि नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको हो ।
बालुवाटार स्रोतका अनुसार अध्यक्षद्वयबीच करिब तीन घन्टा प्रधानमन्त्रीनिवास बालुवाटारमा कुराकानी भएको थियो । भेटमा प्रचण्डले कोरोना संक्रमण विस्तार हुन नदिन सहकार्यका लागि सर्वदलीय संयन्त्र गठन गर्दा सरकारलाई नै सहज हुने भएकोले संयन्त्र गठन गर्न ओलीलाई सुझाव दिएको स्रोतको बतायो । जवाफमा ओलीले गृहकार्य गर्ने जवाफ फर्काएका थिए ।
राजदूत लीलामणि पौडेललाई चीनबाट फिर्ता बोलाउने प्रधानमन्त्री ओलीको निर्णय र कोरोना संक्रमण विस्तार हुन नदिन सहकार्यका लागि सर्वदलीय संयन्त्र गठन गर्नुपर्ने प्रचण्डको प्रस्तावले दुई शीर्ष नेताबीच सम्बन्ध चिसिएको छ । आजको भेटमा पनि ओलीले प्रचण्डसँग खुलेर कुराकानी नगरेको स्रोतले बतायो ।