नेपालगन्जमा कोरोना आशंका गरिएका एक बिरामीको मृत्यु

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको सघन उपचार कक्ष (आइसियू)मा उपचाररत एक बिरामीको मृत्यु भएको छ । कोरोना संक्रमणसँग ठ्याक्कै मिल्दोजुल्दो संक्रमण भएका गुलरिया नगरपालिकाका ४२ वर्षीय इसराइल बेहनाको मृत्यु भएको हो । उनको मृत्युको कारण नेपालगन्ज यतिबेला सतर्क भएको छ ।

उपचारमा खटिने चिकित्सक, स्वास्थ्यसँग सम्बन्धित निकाय, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखबीच लामो छलफल भएको छ । ज्वरो, रुघाखोकीसँगै श्वास्प्रश्वासमा समस्या देखिएका बेहनालाई उनका परिवारले चैत्र ३ गते मध्यरातमा उपचारका लागि शिक्षण अस्पताल नेपालगन्जमा भर्ना गरेका थिए । बिरामीको अवस्था जटिल भएकोले अस्पतालले बेहनालाई सीधै आइसियूमा भर्ना गरेको थियो ।



उनको चैत्र ६ गते बिहान करिब ६ बजेतिर मृत्यु भएको हो । मृत्युलगत्तै जनस्वास्थ्य कार्यालय र प्रजिअसहित चार वटै सुरक्षा निकायका प्रमुख सहितको टोलीले चिकित्सकसँग छलफल गरेका छन् । शिक्षण अस्पताल नेपालगन्जका उपनिर्देशक डा। रोमन किदवाईका अनुसार अस्पताल ल्याउने बेला बिरामीको अवस्था बिग्रिसकेको थियो ।

मृतक बेहनाको स्वाब परीक्षणका लागि बुटवल पठाइएको उपनिर्देशक किदवाईले बताए । अस्पतालमा आरडिटी किट नभएका कारण समयमा कोरोना भाइरस जाँच गर्न नसकिएको किदवाईले बताए। आरडिटी किट उपलब्ध नहुँदा बेहनाको परीक्षण नभएको उनको भनाइ छ।

सम्बन्धित समाचार