पर्साको बहुदरमाइ नगरपालिकामा शनिबार राति दुई पक्षबिच भएको झडपमा ८ जना घाइते भएका छन् । बहुदरमाई नगरपालिका वडा नम्बर ९ बिश्रामपुरको मौजे टोलमा दुई पक्षबिच झडप हुँदा दुई महिलासहित ८ जना घाइते भएका हुन् ।
दुई पक्षबिच भएको झडपमा चन्दन गुप्ता, राधेशयाम गुप्ता, सुनिल गुप्ता, सुशीला देवी, मखमुल राय भाट, बडिया राय भाट, फैयाज देवान र फतिमा खातुन घाइते भएका हुन् ।
मौजे टोलमा रहेको मस्जिदमा केही व्यक्तिले ढुंगा प्रहार गर्दा दुई पक्षबिच झडप भएको थियो । मस्जिदमा जमातीहरु बसेको भन्दै केही व्यक्तिहरुले ढुंगा प्रहार गर्न थालेपछि झडप भएको वडा सदस्य फकरुदिन देवानले बताए ।
यता वीरगञ्जको नेशनल मेडिकल कलेजमा घाइते भएकाहरुको उपचार भइरहेको छ । झडपमा घाइते भएका चन्दन गुप्ताले आफूहित केही व्यक्तिहरुले मस्जिदमा जमातीहरु आएर बसेको र उनीहरुलाई त्यहाँ राख्न नहुने भन्दा मस्जिद क्षेत्रबाटै ढुंगा प्रहार भएको बताए ।
टोलमा समाजिक सदभाव बिथोल्नको लागि केही खराब नियतका व्यक्तिहरुका कारण यस्तो दुःखद घटना हुन पुगेको वडा नम्बर ९ का वडाध्यक्ष रवी गुप्ताको भनाई छ ।
झडप भएको खबर पाउनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले स्थिती नियन्त्रणमा लिएको थियो । झडपमा संलगन भएका दुईजनालाई नियन्त्रणमा पनि लिइएको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले बताइन् ।
झडपमा संलगन रहेको आरोपमा स्थानीय राजु गुप्ता र नसुरलाह मियाँलाई पक्राउ गरिएको तथा घटनाको बिषयमा थप अनुसन्धान भइरहेको उनले बताइन् ।