कोरोना भाइरसविरुद्ध लडाइँ जितेर पाँच नेपाली घर फर्किए

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्व त्रसित छ । नेपालमा पनि हालसम्म ४२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भइसकेको छ ।

सुखद पक्ष नेपालमा हालसम्म कोरोनाका कारण कसैको ज्यान गएको छैन । सरकारले कोरोनाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै चैत ११ गते यता लकडाउन जारी राखेको छ । र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) र प्रयोगशाला परीक्षण पीसीआरलाई पनि तीव्रता दिइँदै आएको पाइएको छ ।



नेपालका संक्रमित ४२ जनामध्ये ५ जना उपचारपछि निको भएका छन् । हालसम्न निको हुनेहरुमा धनगढीका दुई जना र बागलुङकी एक महिला, काठमाडौंकी एक महिला र नेपालका पहिलो कोरोना संक्रमित एक पुरुष हुन् ।

धनगढीका एक युवक मंगलबार निको भएर घर फर्किएका हुन् । त्यसअघि गत आइतबार धनगढीकै एक युवक, गत शनिबार बाग्लुङकी ६५ वर्षीया कोरोना संक्रमित महिला निको भएर घर फर्किएकी हुन् भने शनिबार नै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारत काठमाडौँकी प्रसिद्धि श्रेष्ठ घर फर्किएकी हुन् ।

मंगलबार थप ११ जना संक्रमित थपिएपछि संक्रमित संख्या ४२ पुगेको हो । सबैभन्दा बढी कोशी अस्पतालमा उपचाररत छन् । त्यहाँ २४ संक्रमित उपचाररत छन् । ४ जना नारायणी अस्पताल वीरगञ्ज, ३ जना सेती अस्पताल, २ जना पाटन, २ जना चितवनको भरतपुर, १ जना टेकु, १ जना धौलागिरी अस्पतालमा उपचाररत छन् ।

सम्बन्धित समाचार