
सुदूरपश्चिमका तेस्रो कोरोना संक्रमित पनि अस्पतालबाट डिस्चार्ज भएका छन्। सेती प्रादेशिक अस्पतालका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुषको तेस्रो र चौथो रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो।
उनको यसअघि गरिएको पहिलो र दोस्रो रिपोर्टमा कोरोना पोजेटिभ देखाएको थियो। यसअघि कैलालीको लम्की चुहा नगरपालिकाका २१ वर्षीय युवक र धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ वर्षीय संक्रमित युवकलाई सञ्चो भएपछि अस्पतालले डिस्चार्ज गरिसकेको छ ।
अब सेती प्रादेशिक अस्पतालमा दुई जना कोरोना संक्रमित विरामी उपचार गराइरहेका छन् । जसमा धनगढी उप–महानगरपालिका–५ कि ३४ वर्षीया महिला र लम्की चुहा नगरपालिका–१ कि ६५ वर्षीया महिला रहेका छन् ।
यस्तै र्यापिड परीक्षणमा कैलालीका एक जना युवामा कोरोना पोजेटिभ देखिएको छ । लकडाउनका वेला विचल्लीमा परेपछि स्थानीय सरकारले उपलब्ध गराएको बसमार्फत मंगलबार कैलाली पुगेका मोहन्याल गाउँपालिका–५ का युवकको र्यापिड टेष्टका क्रममा पोजेटिभ रिपोर्ट आएको हो ।
सेती प्रादेशिक अस्पताल धनगढीका इमरजेन्सि विभाग प्रमुख जगदिश जोशीका अनुसार मोहन्याल गाउँपालिका–५ कटौजेका १७ वर्षे युवकमा र्यापिड टेस्ट गर्दा कोरोना एन्टीबडी पोजेटिभ देखाएको हो ।
मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिह रावलले एन्टीबडी पोजेटिभ देखाएपछि थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि धनगढी पठाउन लागेको जानकारी दिए।
उनको धनगढीमा थ्रोट स्वाब संकलन गरी पीसीआर प्रविधिबाट परीक्षण गरिनेछ। युवकसँगै फर्किएका ३६ जनाको रिर्पोट भने नेगेटिभ आएको छ।
