कोरोनाविरुद्ध लड्न नेपाललाई भारतले दियो २३ टन औषधि

भारत सरकारले कोभिड-१९ विरुद्ध लड्न नेपाललाई २३ टन औषधि हस्तान्तरण गरेको छ । कोभिड-१९ विरुद्ध लड्न भारतले नेपाललाई उपलब्ध गराएको औषधि बुधबार हस्तान्तरण गरिएको छ। उक्त परिमाणको औषधि प्राप्त गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र त्यहाँको सरकारलाई धन्यवाद दिएका छन् ।

उनले कोरोनाविरुद्ध लड्न २३ टन औ‍षधि दिएको आभार व्यक्त गर्दै आपसी सहयोग कायमै राख्ने बताएका छन् । ‘भारतले दिएको २३ टन औषधिका लागि प्रधानमन्त्री मोदीजी र भारत सरकारप्रति आभारी छौं’ उनले भने, ‘यो औषधि भारतीय राजदूतमार्फत स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण भइसकेको छ । अब यसलाई कोभिड-१९ अभियानमा लगाउँछौं।’



भारतीय राजदूत विनय मोहन क्‍वात्राले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेका हुन् । भारतको तर्फबाट नेपालीलाई दिइएको औषधिहरुमा पारासिटामोलको ३.२ लाख डोज र हाइड्रोक्सिक्लोरोक्‍विनको २.५ लाख डोजसहित ८.२५ लाख डोज अत्यावश्यक औषधि रहेको छ ।

‘कोभिड-१९ को विश्वव्यापी महामारीविरुद्ध लड्न र जनतालाई सुरक्षित राख्न हाम्रा नेताहरुले प्रतिबद्धता जनाएका छन्’, भारतीय दूतावासले भनेको छ, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चैत २ गते सार्क राष्ट्रका नेतासँग गर्नुभएको भिडियो कन्फरेन्समा सार्क कोभिड-१९ आपतकालीन कोषमा १० मिलियन अमेरिकी डलर प्रदान गर्ने वाचा गर्नु भएको थियो।’ ओलीलाई तत्कालै ट्‍विटरमार्फत जवाफ दिँदै भारतीय प्रधानमन्त्री मोदीले नेपाल-भारत सम्बन्ध विशेष रहेको उल्लेख गरेका छन्।

‘नेपाल भारतबीचको सम्बन्ध विशेष छ। दुई राष्ट्रबीचको सम्बन्ध दाह्रो मात्रै नभएर धेरै गाढा र गहिरो पनि छ’, उनले भनेका छन्, ‘भारत सरकार कोरोना भाइरसविरुद्ध लडिरहेका नेपाल सरकार र नेपाली जनताको अभियानमा बलियो साथ दिन तत्पर छ।’

सम्बन्धित समाचार