
प्रधानमन्त्री लगायत अन्य संस्थाविरुद्ध गाली गरेको आरोपमा पक्राउ परेका पूर्वसचिव भीम उपाध्यायविरुद्ध साइबर अपराधमा मुद्दा चलाइने भएको छ । साइबर ब्युरोले आजै जिल्ला अदालतमा उनलाई उपस्थित गराएर म्याद थप माग गर्ने तयारी गरेको छ ।
गएराति उनलाई ललितपुरको कुसुन्तीस्थित निवासबाट पक्राउ गरिएको थियो । एक प्रहरी अधिकारीका अनुसार उनीमाथि प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोप छ ।
साइबर ब्युरोका एसएसपी नवीन्द्र अर्यालले उपाध्यायविरुद्ध विभिन्न ३ ठाउँबाट उजुरी आएपछि अदालतबाट पक्राउ पुर्जी लिएर नियन्त्रणमा लिएको बताए ।
उनले भने, ‘उहाँविरुद्ध उजुरी नै आएपछि प्रक्रिया पूरा गरेरै पक्राउ गरेका हौँ । सामाजिक सञ्जालमा उहाँले लेखेको कुराले साइबर अपराध आकर्षित हुने देखिन्छ । विस्तृत अनुसन्धान गर्दछौँ ।’
