बैशाखयता हरेक दिनजस्तो पानी परिरहेको छ । दिनदिनै पानी परेपछि काठमाडौंको उच्चतम तापक्रम घटेको छ। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार अहिले नेपालमा तीन प्रकारका वायु सक्रिय छन्।
‘अहिले पश्चिमतिर अरब सागरबाट आएको पश्चिमी वायुको प्रणाली छ भने पूर्वमा बंगालको खाडीबाट आएको वायुको प्रभाव छ,’ कँडेलले भनिन् ‘बैशाख, जेठमा नेपालमा स्थानीय मौसमी प्रणाली पनि सक्रिय हुन्छ। अहिले यी तीनै वायु नेपालमा छन्।’
चैत, बैशाख, जेठलाई नेपालमा प्रिमनसुन अवधि भनिन्छ। यो बेला पश्चिमी वायुको प्रभाव पनि हुन्छ भने स्थानीयस्तरमा अपरान्हसम्म जमिन तातेर तातो हावा माथि जान्छ। अनि आइसोलेटेड ठाउँमा साँझपख, हावाहुरी असिनासँगै वर्षा हुन्छ।
‘अहिले देशको पश्चिमी क्षेत्रमा स्थानीय वायुमा पश्चिमी वायुको प्रभाव मिसिएको छ भने पूर्वी क्षेत्रमा बंगालको खाडीबाट आएको वायु छ,’ मौसमविद् कँडेलले भनिन्, ‘पानी पर्ने क्रम अझै केही दिन जारी रहने देखिन्छ। शुक्रबार त हावाहुरी र असिनासहित पानी पर्न सक्छ।’
कँडेलका अनुसार अहिले नेपालको पहाडी क्षेत्रमा एउटा पश्चिमी न्यूनचापीय रेखा बनेको छ भने भारतको मध्यप्रदेश आसपासमा अर्को न्यूनचापीय रेखा बनेको छ। न्यूनचापीय रेखा बन्दा वरपरको जलवाष्पयुक्त हावा केन्द्रीत भएर बादल बन्ने र वर्षा हुने हुन्छ।
‘नेपालमा प्रिमनसुनका बेला यस्तो हुन्छ। उल्का वर्षाका कारण पनि पानी परेको भनेको सुनिन्छ तर नेपालमा उल्का वर्षाका कारण मौसममा कस्तो असर पर्छ भन्ने अध्ययन भइसकेको छैन,’ कँडेलले भनिन्। बैशाख ४ बाट शुरू भएको उल्का वर्षा १८ गतेसम्म सक्रिय हुने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ।