अमेरिकी वैज्ञानिक भन्छन् : सूर्यको प्रकाशले कोरोनाभाइरस छिट्टै नष्ट हुन्छ

अमेरिकी वैज्ञानिकहरुले हालै गरेको एक अनुसन्धान अनुसार कोरोना भाइरस सूर्यको किरणबाट छिट्टै नष्ट हुन्छ । बिहीबार अमेरिकी बरिष्ठ अधिकारीहरुले यस्तो घोषणा गरेका हुन् । यद्यपि उक्त अध्ययनको रिपोर्ट सार्वजनिक गरिएको छैन । सुरक्षा विभागका विज्ञान तथा प्रविधि सल्लाहकार विलियम ब्रायनले यसबारे ह्वाइट हाउसलाई जानकारी गराएका हुन् ।

हालसम्मको अध्ययन अनुसार सौर्य प्रकाशले नै भाइरसलाई सतह र हावामा नष्ट गरेको देखिएको बताइन्छ । यसैले पनि तापक्रम र आद्रता बढ्नु भाइरसको लागि कम अनुकुल अवस्था हुने ब्रायनले बताए ।



वैज्ञानिकहरुको नयाँ अध्ययनसँगै गर्मी मौसममा कोरोना भाइरसको संक्रमण न्युन हुँदै जाने अपेक्षा गरिएको छ । यद्यपि उक्त अध्ययनको समीक्षात्मक रिपोर्ट सार्वजनिक गरिएको छैन । यसका लागि कस्तो विधि अपनाइएको थियो, कस्तो अवस्थामा परीक्षण भएको थियो जस्ता विषयबारे प्रश्न र बहस बाँकी नै छ ।

‘कसरी टेस्ट गरियो र यसका परिणामहरु कसरी मापन गरियो भन्ने जान्न पाउनु खुसीको कुरा हो,’ टेक्सास एएन्डएम युनिभर्सिटीका जैविक विज्ञान विभागका प्रमुख बेन्जामिन न्युम्यानले भनेका छन् ।

उनले थप प्रश्न गरे, ‘यो नराम्रो तरिकाले गरियो भन्ने हैन, तर भाइरस गणना गर्ने धेरै तरिका छन्, तपाईँ यसको कुन पक्ष अध्ययन गर्न चाहनुहुन्छ भन्ने कुराले निर्भर गर्छ ।’ अमेरिकी स्वास्थ्य अधिकारीहरुले कोरोना भाइरसको प्रभाव गर्मी मौसममा अन्य भाइरस झैँ न्युन हुँदै जानेमा विश्वास गरेका छन् । र जाडोमा फेरि बढ्ने आंकलन गरिएको छ ।

कोरोना भाइरसको प्रभाव अमेरिकामा सबैभन्दा धेरै देखिएको छ । हालसम्म संक्रमितको संख्या ८ लाख ८६ हजार भन्दा बढी पुगिसकेको छ । यस्तै ५० हजार भन्दा धेरैको मृत्यु भइसकेको छ ।

सम्बन्धित समाचार