अध्यादेश फिर्तापछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुष्पकमद दाहाल प्रचण्डसँग छलफल गरेका छन् । पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक राजनीतिका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
‘प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाबीच पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयमा एक घन्टा छलफल भएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘त्यसपछि अध्यक्ष प्रचण्डसहित तीनजनाबीच छलफल भएको हो ।’
गल्ती सच्याउँदै अध्यादेश फिर्ता लिएकोमा प्रधानमन्त्रीलाई धन्यावाद दिँदै एक सांसदलाई अपहरणको शैलीमा काठमाडौंमा ल्याउनेलाई कहिले कारबाही हुन्छ भन्ने प्रश्न देउवाले प्रधानमन्त्रीसमक्ष राखेको स्रोतको दाबी छ । सांसदलाई अपहरण गर्नेलाई कारबही गर्न देउवाले माग गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी प्रेस नोटमा पनि उल्लेख छ । ‘दुवै अध्यादेश फिर्ता लिएर गल्ती सच्याउनुभयो, त्यसका लागि धन्यवाद छ । तर, एक सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याउन जो संलग्न छन्, तिनलाई कारबाही गर्नुपर्ने माग देशभरि उठेको छ,’ नोटमा उल्लेख छ, ‘मेरो माग यही छ । देशमा कानुनी राज्य छ भने निष्पक्ष अनुसन्धान र कारबाही हुनुपर्छ ।’ देउवाले कोरोनाको जोखिमसँग लडिरहँदा अब विवादका कुनै कुरा नल्याई थप सजग हुन आग्रह गरेका छन् ।
कोरोना रोकथामका लागि समुदायस्तरमा व्यापक परीक्षण गर्न, स्वास्थ्यकर्मीहरूलाई पिपिईलगायतका सामग्री पर्याप्त व्यवस्था गर्न, स्वास्थ्यकर्मीलाई हतोत्साहित नगर्न पनि देउवाले आग्रह गरेका छन् । श्रमिकलाई कि खान दिन वा गाउँ जान दिन, घोषित राहत दिनैपर्नेलाई दिन, श्रमिक, बेरोजगार, विद्यार्थी र सानाठूला सबै व्यवसायीका लागि तत्काल अर्को प्याकेज ल्याउन पनि देउवाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।