महामारीको रुपमा विश्वभर फैलिएको कोरोनाबाट १ लाख ९७ हजार भन्दा धेरैको ज्यान गइसकेको छ । संक्रमितको संख्या २८ लाख २७ हजार ८ सय नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै १ लाख ४ हजार ८४० मा कोरोनाको संक्रमण पहिचान भएको छ । यसमा अमेरिकामा मात्रै ३७ हजार ९८८ जनामा कोरोनाको संक्रमण देखिएको छ भने ५२ हजार भन्दा धेरैको कोरोनाका कारण मृत्यु भइसकेको छ ।
अमेरिकामा पछिल्लो २४ घण्टामा ६ हजार १६५ कोरोना संक्रमितको ज्यान गएको छ । हाल १८ लाख ३२ हजार कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये साढे ५८ हजारको अवस्था गम्भीर रहेको छ । बाँकीको स्वास्थ्य अवस्था मध्यम रहेको तथ्यांक छ । ७ लाख ९८ हजार भने निको भएर घर फर्किसकेका छन् ।
नेपालमा हालसम्म ४९ जनामा कोरोनाको संक्रमण देखिएको छ । जसमध्ये १० जना निको भएर घर फर्किसकेका छन् । ३९ जनाको उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा अहिले ८९ जना आइसोलेसनमा छन् भने १२ हजार ९८५ क्वारेन्टाइनमा छन् ।