बागलुङकी कोरोना सङ्क्रमित १९ वर्षीया युवती शुक्रबार कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भइन् । युवतीको पाँचौँ र छैटौँ स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएकाले कोरोनामुक्त भएको धवलागिरि अञ्चल अस्पतालले जनाएको छ । बागलुङ नगरपालिका–४ कुँडुलेकी १९ वर्षीया अंशु सापकोटाकोे पाँचौँ रिपोर्ट नेगेटिभ आएपछि पुनः स्वाब परीक्षणका लागि शुक्रबार पोखरा पठाइएको र छैटौँ स्वाबको नमूना पनि नेगेटिभ आएपछि शुक्रबार राति अस्पतालले अंशुलाई डिस्चार्ज गरेको धवलागिरि अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बी पोखरेलले जानकारी दिए । २८ दिनको अस्पताल बसाइपछि घर फर्कने क्रममा अंशुले आफूले कोरोनालाई जितेर घर हिँड्दा खुशीको सीमा नरहेको बताइन् ।
उनले आत्मबल नै सबैभन्दा ठूलो भएको भन्दै धैर्यता गर्न सबैलाई आग्रह गिरन् । ‘सबैभन्दा ठूलो कुरा आत्मबल र धैर्यता रहेछ’, सापकोटाले भनिन्, ‘कोरोनालाई जित्न रोग प्रतिरोधी क्षमता बढाउँदै आत्मबल दह्रो बनाउँदै लगे ।’ उनले औषधि नै पत्ता नलागेको रोगलाई जित्ने उपाय धैर्य गर्नु र आत्मबल बढाउँदै लगेकाे भन्दै उपचारमा संलग्न चिकित्सकहरुलाई धेरै धन्यवाद दिइन् ।
‘चिकित्सकहरुको परामर्श र अभिभावकको सान्त्वनाका कारण अस्पतालमा बिताएका २८ दिन लामो लागेन’, उनले अनुभव सुनाइन् । ‘२८ दिनको अवधिमा एक दिन पनि आफूलाई कमजोर बनाइन, आत्मबल झनै दह्रो बनाएर बसेँ ।’ अन्य कोरोना सङ्क्रमितले पनि स्वास्थ्यको ख्याल गर्दै मनोबल बढाउँदै लैजान सुझावसमेत दिइन् । आफूले आफैँलाई कमजोर ठाने रोगले गलाउँदै लाने भन्दै उनले सबैलाई रोगप्रति सचेत रहन आग्रह गर्नुभयो । सापकोटाले मानसिकरूपमा विचलित भएमा कमजोर हुने भन्दै सबैलाई सकारात्मक सोच्न आग्रह गरिन् । आत्मबल र धैर्यता नै कोरोनाको अचुक औषधि रहेको उनले बताइन् ।
छोरीलाई कोरोना सङ्क्रमित हुँदा जीवनमा सबैभन्दा बढी पीडावोध भए पनि २८ दिनमा छोरीलाई घर फर्काउन पाउँदा ज्यादै खुशी भएको अंशुका बुबा ऋषिराम सापकोटाले बताए । उनले छोरीलाई २८ दिनसम्म एक्लै अस्पतालमा राख्दा बाबुका नाताले धेरै पीडा भए पनि सकुसल घर फर्काउँदा पीडा खुशीमा परिणत भएको बताए ।
अठ्ठाइस दिनको अस्पताल बसाइमा कुनै समस्या नभएको भन्दै अंशुले उपचारमा खट्ने तथा सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिइन् ।