नोभेल कोरोना भाइरसको संक्रमणको त्रासका कारण इटालीमा केही कैदीलाई रिहा गरिएको छ । रिहा हुनेमा केही माफियाका नाइेकहरु पनि रहेको सीएनएनले जनाएको छ । इटालीयन एन्टी-माफियाका एक अधिकारीलाई उदृत गर्दै सीएनएनले अधिकांश माफियाका नाइकेहरु रिहा भएको उल्लेख गरेको छ ।
सिसिलियन कोसा नोस्त्राका प्रभावशाली माफिया फ्रान्सेस्को बोनुरा, द्राङघेटा माफिया समूहका सदस्य भिन्सेन्जो इन्नाजो, कासालेसी क्लानका सदस्य पास्क्युले जागारियालाई उनीहरुकै घरमा बन्दी बनाइएको इटालीयन एन्टी-माफियाका अधिकारी फेडरिको काफिरो डी राहोले बताएका छन् ।
इटालियन सरकारले कोरोना भाइरसको संक्रमण जेलमा बढ्नसक्ने र उचित सामाजिक दूरी कायम गराउन नसकिने स्थिति भएकोले १८ महिना अथवा त्यसभन्दा कम समय कैद भुक्तान गर्न बाँकी रहेका कैदीहरुलाई उनीहरुलाई घरमा बन्दी बनाउन निर्देशन जारी गरेको हो ।
माफियाका नाइके रहेका तीनै जनालाई अन्य मानिसको सम्पर्क नहुने गरी ‘विशेष आइसोलेट’ गरिएको काफिरो डी राओले बताएका छन् । उनीहरुले माफिया संगठनमा सम्पर्क गरेर थप गैरकानुनी गतिविधि बढाउनसक्ने भन्दै उनीहरुलाई यसरी राखिएको बताइएको थियो ।
इटालीमा कोरोना भाइरस संक्रमणबाट २६ हजार ३८४ जनाको मृत्यु भएको छ भने एक लाख ९५ हजारभन्दा बढी संक्रमित भएका छन् ।