साबिक समाजवादी पार्टीका सांसद डा सुरेन्द्र यादवले आफूलाई अपहरण गरिएको भनेर दिएको उजुरी (जाहेरी) दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ । समाजवादी र राजपा एकीकरणपछि बनेको जनता समाजवादी पार्टीका शीर्ष नेताहरुसहित डा यादव आइतबार दिउँसो उजुरी दर्ता गर्न महानगरीय प्रहरी परिसर काठमाडौं (टेकु) पुगेका थिए ।
नेपाल कम्युनिस्ट पार्टीका सांसदद्वय महेश बस्नेत तथा किसान श्रेष्ठ र नेपाल प्रहरीका पूर्व महानिरीक सर्वेन्द्र खनालले अपहरण गरी आफ्नो गृहजिल्लाबाट काठमाडौं पुर्याएर बन्धक बनाएको भन्दै डा यादव उजुरी दर्ता गर्न पुगेका थिए । तर, काठमाडौं प्रहरीले बारदात भएको स्थान (घटनास्थल) महोत्तरीमा भएको भन्दै उजुरी दर्ता गर्न अस्वीकार गरेको हो ।
उजुरी दर्ताका लागि पूर्व प्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, शरतसिंह भण्डारीलगायत आइतबार प्रहरी परिसर काठमाडौं पुगेका थिए । तर, नेताहरु उजुरी दर्ता गर्न जाँदा महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामलाल ज्ञवाली भने कार्यालयमा थिएनन् ।