प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर आन्तरिक विवाद चर्किएको बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ । बैठक साँझ ५ बजेपछि प्रधानमन्त्री निवास बालुवाटार बस्न लागेको हो । मंगलबार नै सचिवालय बैठक बस्ने भनिए पनि सो दिन अध्यक्षद्वय ओली र प्रचण्डबीच अलग्गै छलफल भएपछि बुधबार सचिवालय बैठक बस्ने तय भएको हो ।
पार्टी फुटाउने उद्देश्यले राजनीतिक दलसम्बन्धी अध्यादेश एक्कासी जारी गरेपछि प्रधानमन्त्री ओलीको पार्टीभित्र र बाहिरबाट चर्को आलोचना भइरहेको छ । चौतर्फी विरोध भएपछि अध्यादेश खारेज भइसकेको छ । तर, अध्यादेशको औचित्यबारे छलफल गर्न प्रचण्ड र माधव नेपाल पक्षले सचिवालय बैठक बोलाउन माग गर्दै आएका थिए ।
बुधबारको सचिवालय बैठकले स्थायी कमिटी बैठकको मिति तय गर्ने अनुमान गरिएको छ । वरिष्ठ नेता झलनाथ खनालले सचिवालय बैठकमा समसामयिक राजनीति र स्थायी कमिटी बैठकको विषयमा छलफल हुने बताए । यसअघि नेकपा स्थायी कमिटीका २० सदस्यहरुले नेतृत्वलाई पत्र लेखेर बैठक बोलाउन माग गरेका थिए ।
यसअघि अध्यादेश जारी भएकै दिन सचिवालयको बैठक बसेको थियो । तर, बैठक बसिरहेको बेला राष्ट्रपतिबाट अध्यादेश प्रमाणीकरण भएपछि अब अध्यादेशमा छलफल गर्नुको औचित्य नभएको भन्दै नेताहरु उठेका थिए ।