कोरोना भाइरसको औषधि बाँदरमा सफल भएको चीनको दाबी, मानवमा परिक्षण गरिंदै

कोरोना भाइरसको महामारीका कारण अहिले सारा विश्व त्रस्त बनेको छ । यसैबीच चीनले कोरोना भाइरसको खोप बाँदरमा सफल भएको दाबी गरेको छ ।
खोपले बाँदरलाई कोरोना संक्रमणबाट बचाउन सफल भएपछि चीनका वैज्ञानिकहरुले उक्त खोप अब मानिसमा पनि परीक्षण शुरु गर्न थालिएको बताएका छन् ।

चीनको बेइजिङस्थित औषधि बनाउने कम्पनी साइनोभ्याक बायोटेकले रातो मुख भएको बाँदरमा खोप परीक्षण गरेको र खोपले कोरोना संक्रमित बाँदरलाई निको बनाएको जानकारी दिएको हो । बाँदरमा खोपको परिक्षण सफल भएसँगै गएको हप्ताबाट उक्त खोप मानिसमा परिक्षण गर्न थालिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् ।



कम्पनिले दिएको जानकारीअनुसार आठ वटा बाँदरको श्वास नलीमा कोरोना भाइरस राखिएको थियो । त्यसपछि फरक–फरक डोजमा भ्याक्सिन दिइइएको थियो। त्यसको तीन हप्तापछि उक्त बाँदरहरुको पुनः जाँच गर्दा बाँदरमा कोरोना संक्रमण देखिएन ।

साइनोभ्याकका डाइरेक्टर मेंग विनिङलाई उदृत गर्दै लेखिएको समाचारमा, ‘सबैभन्दा बढी डोज दिइएको बाँदरमा सात दिनपछि उसको फोक्सो वा शरीरमा कतै पनि कोरोना भाइरसको कुनै लक्षण वा प्रमाण नदेखिएको बताइएको छ ।’

थोरै डोज दिइएका केही बाँदरहरुमा पनि भने हल्का असर देखिएको थियो, मेंग विनिङले ‘खोप मानिसमा पनि प्रभावकारी हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । डाइरेक्टर मेंगले खोप बनाउन पुरानो तरिका प्रयोग गरेको बताएका छन् । उनले भने, ‘पहिले कोरोना भाइरसबाट बाँदरलाई संक्रमित गराएका थियौँ, त्यसपछि त्यही बाँदरको रगतबाट खोप बनायौँ र त्यसलाई अर्को बाँदरमा प्रयोग गर्‍यौँ,’ । यो तरिकाबाट बनाइएको खोप महँगो नहुने उनले बताएका छन् ।

माउन्ट सिनाइस्थित इकान स्कुल अफ मेडिसिनका भायरोलोजिस्ट फ्लोरियन क्रेमरले आफूलाई खोप बनाउने यो तरिका मन परेको बताएका छन् । यस्तै पिट्सबर्ग युनिभर्सिटीका डगलस रिडले भनेका छन्, ‘यो तरिका राम्रो हो तर थोरै बाँदरहरुमा परीक्षण गरिएकाले यसमा पूरा विश्वास छैन ।’ साइनो भ्याकका वैज्ञानिकहरुका अनुसार बाँदर र मुसाको शरीरबाट लिइएको एन्टीबडीलाई मिसाइएको छ ।

यो खोप चीन, इटली, स्वीटजरल्याण्ड, स्पेन र बेलायतका कोरोना भाइरस संक्रमित बिरामीहरुमा पनि परीक्षण गरिएको छ । परीक्षणको क्रममा एन्टीबडीले कोरोना भाइरसको स्ट्रेनलाई निष्कृय बनाएको पाइएको छ ।

एजेन्सीको सहयोगमा

सम्बन्धित समाचार